५ कम्पनिलाई आईपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति

देश । ५ महिनापछि नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति दिएकाे छ । केहि समय यता अध्यक्ष विहिन भएपछि सेबोनले रोकेको आईपीओहरूलाई अब भने बाेर्डले अध्यक्षकाे नियुक्ती नभए पनि अनुमति दिएकाे हाे । सेबाेनकाे हिजाे बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले ५ वटा कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिइने निर्णय गरेकाे बाेर्डकाे सूचना अधिकारी दिपा दहालले बताएकी छिन् । आइपीओ स्वीकृत भएका कम्पनिहरुमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड , नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड , ग्रीन भेन्चर लिमिटेड , बलेफी हाइड्रोपावर लिमिटेड रहेका छन् ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न असार २० गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत वर्षकै फागुन २५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे थियाे । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै गत असार ६ गते सेबोनमा निवेदन पेश गरेको थियाे । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ। ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत वर्षकै फागुन २८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे थियाे । कम्पनीको आईपीओको बिक्री प्रबन्धकको लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न असार २४ गते सेबाेनमा निवेदन दिएकाे थियाे । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुंगाना असाेज १९ गते बर्खास्त भएका थिए । भदाै १६ गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियाे । छानबीन गर्न समिति गठन गरेसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगाना आफ्नो काम कारबाहीबाट निलम्बनमा परेका थिए ।

कमेन्ट गर्नुहोस्