निर्विरोध भए क्षेत्रीय कार्यसमितिसँगै अधिवेशन प्रतिनिधि

देश । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सकिसकेको छ । यद्दपी सर्लाहीमा प्रदेश क्षेत्रीय अधिवेशन बाँकी नै थियो । नेपालभर कांग्रेसको अधिवेशन भईसक्दा पनि सर्लाहीकै कारण प्रदेश नम्बर २ मा प्रदेश क्षेत्र अधिवेशन अझै हुन् सकेको छैन ।कांग्रेस केन्द्रीय निर्वाचन समितिले पुस ६ र ७ गते प्रदेश २ को अधिवेशन गर्ने निर्णय गरेपछि सर्लाहीमा पनि प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गराउने तयारी सुरु भएको हो । प्रदेश महाधिवेशन अन्तर्गत जनकपुरमा मंगलबार मतदाताको नामावली, उम्मेद्वारी मनोनयन, फिर्ता, अन्तिम नामावाली लगायतको कार्यक्रम छ भने बुधबार मतदानको कार्यक्रम रहेको छ । मंगलबार बिहानसम्म सर्लाहीबाट प्रदेश क्षेत्रको मतगणना सम्पन्न गरेर प्रदेश महाधिवेशनको मतदाता नामावलीमा नाम समावेश गराउनुपर्ने सर्लाही कांग्रेसीलाई बाध्यता रहेको छ ।

क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेश क्षेत्र क को मावि धोविनिया वा प्रावि धनकौलमा तथा ख को मावि गोडैता अधिवेशन सम्पन्न भएको छ । प्रदेश क्षेत्र अन्तर्गत क मा अभिन्दन सहनीको सभापतित्वमा पदाधिकारी सहित प्रदेश महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । यसअघि भएको क्षेत्रीय अधिवेशनमा अमरेश कुमार सिंह पक्षको प्यानाल नै हारेपछि यसपटक उनीहरुले उम्मेदवारी नै दिएनन् । ‘क’ मा श्याम कुमार कार्की , रामबाबु उप्रेती , कुबेर बहादुर कार्की , दिपेन्द्र कोइरी लगायत १७ जना प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै , ‘ख’ प्रदेश अधिवेशनमा पनि अमरेश सिंह पक्षले उम्मेदवारी नदिएपछि अशोक कुमार सिंह सभापति रहेको क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । हरेक प्रदेश क्षेत्र अधिवेशनबाट १७ जना प्रदेश महाधिवेशन प्रतिनिधि तथा १ प्रदेश क्षेत्र सभापति सहित १८ जनाका दरले प्रदेश महाधिवेशनमा मतदाता हुनेछन् भने सभापति बाहेक अन्य प्रतिनिधिले उम्मेद्वार समेत बन्न पाउनेछन् । प्रदेश क्षेत्र अधिवेशनले ७ सदस्यीय कार्यसमिति समेत चयन गर्नेछ ।

त्यस्तै प्रदेश महाधिवेशनमा यसअघि क्षेत्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय सभापतिले समेत मतदान गर्न पाउनेछन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेश महाधिवेशनमा उम्मेद्वार समेत बन्न पाउनेछन् । सर्लाहीबाट यसअघि ४ वटै क्षेत्रबाट निर्वाचित क्षेत्रीय सभापति सहित २६ जनाको दरले १ सय ४ जना तथा प्रदेश क्षेत्र अधिवेशन सम्पन्न भएमा हरेक प्रदेश क्षेत्रबाट १८ जनाको दरले ८ वटाबाट १ सय ४४ जना गरी २ सय ४८ जना मतदाता प्रदेश महाधिवेशनमा सहभागि हुनेछन् ।

कमेन्ट गर्नुहोस्