देश । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पदाधिकारीसहित केन्द्रीय समितिलाई पूर्णता दिएको छ । लोसपाको कार्यकारिणी समितिको बैठकले पदाधिकारीसहित तीन सय ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । जसमा फिल्मकर्मीसमेत रहेका वागमती प्रदेश अध्यक्ष करण श्रेष्ठ केन्द्रीय समितिमा सदस्यमा मनोनित भएका छन् ।
फिल्मकर्मी श्रेष्ठले राजनीतिक पार्टीले कलाकर्मीलाई प्रचारका लागि मात्र प्रयोग गर्न नहुने बताए । ‘हामीले आफ्नो दायित्वलाई निर्वाह गर्नुपर्छ । साथै, हामीलाई पार्टीले विश्वास गरेर जिम्मेवारी पनि दिनुपर्छ’, श्रेष्ठले भने,‘मैले पाएको जिम्मेवारीलाई निष्ठापुर्वक बहन गर्नुका साथै फिल्मकर्मीको आवाजलाई बलियो बनाउने छु ।’
उनले चलचित्र नीतिको विषयसँगै देखिएका समस्यालाई केन्द्रीय समितिको वैठकमा उठाउने बताए । नेपाली फिल्ममा अभिनेताका रुपमा प्रवेश गरेका श्रेष्ठ निर्माण तथा फिल्म वितरणमा समेत सक्रिय छन् । उनी गत प्रदेश सभाको निर्वाचनमा लोसपाको तर्फबाट काठमाडौँ क्षेत्र १ (क) बाट उम्मेदवार थिए ।
लोसपाको विस्तारित केन्द्रीय समितिमा पार्टी अध्यक्ष महन्थ ठाकुरसहित ७० जना पदाधिकारी रहेकाछन् । वरिष्ठ नेतामा नेतात्रय राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिलकुमार झाले जिम्मेवारी पाएका छन् । पार्टीको वरिष्ठ सहअध्यक्षमा नेता सर्वेन्द्रनाथ शुक्लालाई जिम्मेवारी दिइएको छ ।
यस्तै नेताहरु जितेन्द्र सोनल, उमाकान्त झा, लक्षणलाल कर्ण, अकवाल अहमद शाह निर्जला राउत गरी ६ जना वरिष्ठ उपाध्यक्ष र १५ उपाध्यक्ष रहेकाछन् । महासचिवमा १६, सहमहासचिव आठ, सचिव ११, कोषाध्यक्षमा दुई, प्रवक्ता र सहकोषाध्यक्ष एक–एकजना रहेकाछन् । कोषाध्यक्षमा दुई जनालाई जिम्मेवारी दिइएको छ ।