अर्जेन्टिना र चिलीको पहिलो जित

खेलकुद । कोपा अमेरिकामा शनिवार भएको खेलमा चिली र अर्जेन्टिना विजयी भएका छन् । सम्पन्न पहिलो खेलमा बेन ब्रेरेटोनको निर्णायक गोलसंगै चिलीले बोलिभियालाई १-० को नतिजामा पराजित गरेको छ । ब्राजिलको एरिना पान्तानालमा भएको खेलको १०औं मिनेटमा ब्रेरेटोनले गरेको गोलसँगै चिलीले अग्रता लिएको थियो । गोलसँगै १-० ले पछि परेको बोलिभियाले तीन पटक गोलपोस्टमा प्रहार गरे पनि सफल हुन सकेन ।

जारी प्रतियोगिताको समूह ‘बी’ मा चिलीको यो पहिलो जित हो । पहिलो खेलमा चिली अर्जेन्टिनासँग १-१ गोलको बराबरीमा रोकिएको थियो भने बोलिभिया पाराग्वेसँग ३-१ गोलको नतिजामा पराजित भएको थियो । अब चिलीले मंगलबार उरुग्वेसँग खेल्ने छ ।

यस्तै , सम्पन्न दोस्रो खेलमा अर्जेन्टिना विजयी भएको छ । समुह ‘बी’ अन्तर्गत भएको खेलमा गुइदो रोडरिग्वेजको निर्णायक गोल मार्फत अर्जेन्टिनाले उरुग्वेलाई १-० को नतिजामा पराजित गरेको छ । पहिलो खेलमा चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिनाको प्रतियोगितामा यो पहिलो जित हो ।

स्टार फरवार्ड लियोनेल मेसीको कप्तानीमा मंदानमा उत्रिएको अर्जेन्टिनालाई जित दिलाउन १३औं मिनेटमा रोडरिग्वेजले गरेको एक मात्र गोल पर्याप्त भयो ।कर्नरमार्फत् रोडरिगो डी पौलले मेसीलाई छोटो पास दिएका थिए । सोही बलमा मेसीले दिएको बाँयातर्फबाट गरेको क्रसमा रोडरिग्वेजले हेडरमार्फत् गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाले आफ्नो अर्को खेलमा मंगलबार पारग्वेको सामना गर्नेछ भने उरुग्वेले पनि सोही दिन चिलीसँग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्