
देश । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर बनेको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । आज काठमाडौँमा नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दोस्रो वर्ष पूरा गरेका अवसरमा आयोजित ‘संविधान संशोधन: प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले नागरिकमा बढेको निराशा चिर्न, संविधान संशोधन तथा राजनीतिक स्थायित्व दिने सर्तमा दुई ठूला दलबीच सहकार्य भएकाले सोअनुसार परिणाम दिन नसके थप अनिश्चितता बढ्ने धारणा राखे ।
‘दुई ठूला दल एकठाउँमा आएका छौँ । यस अवस्थामा धेरै अपेक्षा र आशङ्का छन् । कतिपयले ठूला शक्ति मिलेकाले निरंकुशतातिर उन्मुख होलान् कि भनी शङ्का गरिरहेका छन् । निरंकुश हुने सवालमा तपाईंहामी सबैले आआफ्नो ठाउँबाट खबरदारी गरिरहनुपर्छ । यसमा नेपाल प्रेस युनियनलगायत प्रेससँग सम्बन्धित संस्थाको भूमिका थप महत्वपूर्ण छ’, उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दुई ठूला दल मिल्दा संविधान संशोधनलगायत महत्वपूर्ण काम गरेर देखाउनुपर्ने र सरकारले गलत काम गर्नसक्ने तर्फ बेलैमा सचेत हुनुपर्ने बताए । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको कुरा गरे पनि विभिन्न कानुनमा भएका प्रतिबन्धात्मक व्यवस्थाले कार्यान्वयनमा चुनौती रहेको बताए ।
युनियनका अध्यक्ष शिव लम्सालले संविधानमा प्रेससम्बन्धी व्यवस्था संशोधनका लागि युनियनले बहस सुरू गरेको जानकारी दिदै यसलाई जिल्ला जिल्लामा लगिने बताए । साउन अन्तिम वा भदौको पहिलो साता पत्रकार महासङ्घको निर्वाचन गर्ने गरी सहमतिको प्रयास भइरहेको अध्यक्ष लम्सालले जानकारी दिए ।
कार्यक्रममा युनियनका सल्लाहकार एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल, युनियनका पूर्वअध्यक्ष एवं प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले, युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेललगायतले संविधान संशोधन गर्दा प्रेस स्वतन्त्रतासम्बन्धी सबल व्यवस्थाका लागि युनियनले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।