भ्रष्टाचारमुक्त उपमहानगरपालिका बनाउन यस्ता छन् मेघाको योजना

देश । स्थानीय तहमा आउँदो पाँच वर्षसम्मको लागि सेवा गर्ने उदेश्यका साथ उम्मेदवारी दिईसकेका छन् । स्थानीय तहमा सु-शासन कायम गर्ने र डिजिटल स्थानीय तहको नारा अधिकाँस युवा उम्मेदवारले दिईरहेका छन् । यद्दपी जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर बन्ने दौडमा रहेकी विद्यार्थी नेत्री मेघा शाहीले आफ्नो एजेन्डामा सु-शासनलाई बढी जोड दिएकी छिन् । अघिल्लो निर्वाचित जनप्रतिनिधिले स्थानीय तहलाई भ्रष्टचार मार्फत चिनाएपछि पहिलो प्राथमिकतामा नै ‘भ्रष्टचार मुक्त उपमहानगरपालिका’ भन्ने नारा सहित भोट मागिरहेकी छिन् ।

विद्यार्थी हकहितका लागि नेपाल विद्यार्थी संघमा सक्रिय रहेत राजनीतिमा उदाएकी मेघा शाही जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर बन्ने दौडमा छिन् । ‘भ्रष्टचार मुक्त उपमहानगरपालिका बनाउने योजना प्राथमिकतामा छ । उपमहानगरपालिका सुधार्नु छ भने सु-शासन बढाउनु पर्ने छ’ मेघाले भनिन् । उद्योग , पर्सा राष्ट्रिय निकुञ्ज सहितको उपमहानगरपालिकामा सू-शासनको मुद्दालाई पहिलो नम्बरमा स्थान दिएकी छिन् । ‘स्थानीय तहलाई भष्ट्राचार मुक्त बनाउनुका साथै सेवालाई सरल बनाउने प्राथमिकता मैले लिएकी छु’ उनले भनिन् । ‘स्थानीय तहमा युवा’ भन्ने नाराका साथ उपमेयर पदमा उम्मेदवारी दिएकी मेघा विद्यालयमा पढ्दै राजनीतिमा प्रवेश गरेकी मेघा नेविसंघकाे ठाकुरराम बहुमुखी क्याम्पस ईकाई अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत भइसकेकी छिन् । सधैँजसो गुणस्तरीय शिक्षा र विद्यार्थी हकहितका एजेण्डा बोकेर आन्दोलनमा उत्रने मेघा अहिले जीतपुरसिमराको समृद्धि र सु-शासनको एजेण्डा बोकेर चुनावी मैदानमा छिन् ।

व्यवस्थित सहरीकरण, सुशासन र नागरिक अधिकारको रक्षा नै आफ्नो मुख्य एजेण्डा बताउने मेघाले उपमेयरलाई दिएका अधिकारहरुको प्रयोग गर्दै जीतपुरसिमराका जनताको सेवा गर्ने आफ्नो लक्ष्य रहेको बताउँछिन् । सत्तारुढ गठबन्धनको तर्फबाट जीतपुरसिमरामा माओवादी केन्द्रका राजन पौडेल मेयरका प्रत्याशी छन् भने मेघा नेपाली कांग्रेसको तर्फबाट उपमेयर पदको प्रत्यासी छिन् ।‘सु-शासनको लागि भ्रष्टाचार अन्त्य गर्नुपर्नेछ । पुराना बिग्रिएका कामहरु सुधार्दै नयाँ कामको सुरुवात गर्नु पर्ने छ । मेरो उद्देश्य शिक्षा, स्वास्थ्य र सुशासनमा योगदान गर्नु हो’, उनी भन्छिन् ।

औद्योगिक हिसाबले पनि निकै सबल रहेको जीतपुरसिमरालाई श्रमिकहरुको नगर पनि भन्ने गरिन्छ । यसलाई उनले ‘श्रमिक अस्पताल’ को धारणासँगै सम्बोधन गर्ने बताइन । ‘हाम्रो अधिकांश जनसंख्या श्रममा खटिने भएकाले उनीहरुको शिक्षा र स्वास्थ्ययमा पहुँचलाई सुलभ बनाउने योजना छ । हामीले संघ वा प्रदेशसँग समन्वय गरेर भए पनि श्रमिक अस्पताल सञ्चालन गर्ने सोचेका छौं’, उनी भन्छिन् ।

‘हामीलाई आफ्नो राजनीतिसँगै आफ्नो ठाउँको पनि विकास गर्नु छ । हामी फेरी जनता कहाँ पुग्दा आफ्नो एजेन्डा पुरा गरेर पुग्न चाहन्छौ । त्यसैले पनि हामीले पुरा गर्न सक्ने योजनाहरुलाई अगाडी ल्याएका छौँ’ मेघाले भनिन् । उनले श्रमिकहरुका लागि श्रमिक अस्पतालको आवश्यकता महसुस गरेकी छिन् । सहरी संरचनाको पर्याप्त निर्माण हुन नसकेको, खुला व्यवस्थित स्थान र पार्कको अभाव रहेको उनले औल्यायेकी छिन् ।

मेघाले विद्यार्थीका लागि प्राविधिक शिक्षामा जोड दिएकी छिन् । ‘शिक्षाले नै समाजको मुहार फेर्ने हो । त्यसैले पनि शिक्षालाई विशेष महत्वका साथ अगाडी बढाउनु पर्छ’ उनले भनिन् । शिक्षासँगै स्वाथ्यमा जोडी दिएकी मेघाले पर्यावरण स्वच्छ बनाउन पनि अग्रसर हुनुपर्ने बताईछिन् । ‘उद्योग हाम्रो सम्पति हो । यसले यहाँ धेरैलाई रोजगारी दिएको छ । यद्दपी त्यसबाट पर्यावरणलाई पर्ने असरलाई न्यून बनाउनै पर्छ’ उनले भनिन् ।

उनले आन्तरिक पर्यटन प्रवद्धनको समेत योजना बुनेकी छिन् । ‘पर्सा राष्ट्रिय निकुञ्ज व्यस्थित बनाउनु सके मात्र पनि आन्तरिक पर्यटनलाई बढाउन सकिन्छ’ उनी भन्छिन् ,’हाम्रो काम गर्ने इच्छ शक्तिले हाम्रो बुनिएका योजनालाई मुर्तरुप दिन्छ ।’ आफ्नो प्राकृतिक हिसाबले स्वच्छ, हराभरा र सुन्दर बनाउने गरी विकासको खाका ल्याउने योजना उनको छ । आफू कानुनकै विद्यार्थी रहेकोले मधेसका महिलाहरुले भोग्ने गरेका समस्याहरुबाट उन्मुक्ति दिलाउन न्यायिक समितिमार्फत विशेष अभियान सञ्चालन गर्ने मेघाको योजना छ । जीतपुरसिमरा उपमहानगरपालिकामा ७० हजार ६४ जना मतदाता रहेका छन् ।

कमेन्ट गर्नुहोस्