फिल्म । नेपालमा गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘गोर्खे’ अष्ट्रेलियाको राजधानी क्यानबेरामा प्रदर्शन हुने भएको छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको सहकार्यमा डि व्वाइज इभेन्ट्सको आयोजनामा अष्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन भइरहेको फिल्म आउँदो अप्रिल २३ मा प्रदर्शन हुनेछ । यु रेमिट हसल फ्रिसँगको सहकार्यमा फिल्म क्यानबेरास्थित लाइमलाइट सिनेमाजमा प्रदर्शन हुनेछ ।
सिड्नीको सफलतापछी क्यानबेरामा शो गर्ने तयारीमा रहेका डि व्वाइज इभेन्ट्सका सिइओ गणेश मल्ल ठकुरीले कोभिडको असरका बाबजुद पनि फिल्म हेर्न दर्शकको उपस्थिति उत्साहजनक रहेको बताए । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा निर्माण भएको हो ।
यसमा रवीन्द्रप्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारको प्रमुख अभिनय रहेको छ । फिल्ममा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांँकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।










