विदेश । मंगलवार अबेर राति युरोपेली चाम्पियन्स लिगमा भएको खेलमा युभेन्ट्सले जित हासिल गरेको छ । क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट गरेको दुई गोलसँगै समूह ‘जी’ को खेलमा बार्सिलोनालाई ३–० ले हरायो । नु क्याम्पमा प्राप्त यो जितपछि युभेन्ट्स समूहको शीर्ष स्थानमा पुगेको छ । रोनाल्डोले सन् २०१८ मा रियल म्याड्रिड छाडेयता उसको मुख्य प्रतिद्वन्द्वी बार्सिलोनाको सामना गरेको यो पहिलो पल्ट हो ।
उनले खेलको १३ औँ मिनेट र ५२ औँ मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरेका थिए । यो खेलपछी दुवै टिमको समान १५ अंक भए पनि युभेन्ट्स ‘हेड टु हेड’ मा अगाडि रहेको हो । बार्सिलोनाका कप्तान लियोनल मेसीले केहि प्रयास गरेपनि उनी सफल हुन् सकेनन् । खेलमा युभेन्ट्सले अट्याक गरेता पनि बार्सिलोना भने टार्गेट अट्याकमा मात्र ध्यान दिदा दबाब कम बनाएको थियो ।
यस्तै , समूहको अर्को खेलमा डायनामो किभले फेरेन्कभारोसलाई १–० ले हरायो । समूह ‘एच’ मा आरबी लाइपजिगले सुरुवाती १३ मिनेटमा गरेको दुई गोलमा म्यानचेस्टर युनाइटेडलाई ३-२ ले हरायो । लाइपगिजले खेलको अन्त्यतिर म्यानचेस्टरले तेर्साएको कडा चुनौतीलाई रोकेको थियो । हारसँगै म्यानचेस्टर युनाइटेड समूह चरणबाटै बाहिरिएको छ । लाइपजिग १२ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) र इस्टानबुल बासकसेरबीचको खेल भने रोकिएको छ । खेल पदाधिकारीमाथि रंगभेदी व्यवहार गरिएको आरोप लागेपछि यो खेल रोकिएको हो र अब यो बुधबार हुनेछ ।
समूह ‘ई’ मा चेल्सी र क्रासनोडरले १–१ को बराबरी खेले भने सेभियाले रेनेसलाई ३–१ ले हरायो । यस्तै समूह ‘एफ’ मा लाजियो र क्लब ब्रुगबीचको खेल २–२ को बराबरीमा समाप्त भयो । अर्को खेलमा बोरुसिया डर्टमुन्डले जेनिथ सेन्ट पिटरर्सबर्गमाथि २–१ को जित निकाल्यो । (एजेन्सी)








