‘एनआरएनए गैरराजनीतिक हुनुपर्छ’ : गगन

देश । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा देखा परेको विवाद समाधानका लागि सबै पक्षलाई समेटेर एकता महाधिवेशन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । बिहीबार एनआरएनए अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ताका क्रममा महामन्त्री थापाले ‘अबको एकता वास्तवमै एकताको लागि हुनुपर्छ, त्यसमा कोही छुट्न हुँदैन’ भन्दै संघलाई गैरराजनीतिक बनाउनुपर्नेमा जोड दिए ।

‘यो संस्था दलीयकरणबाट मुक्त रहनुपर्छ’, उनले भने । उनले गैरआवासीय नेपाली ऐनसँग सम्बन्धित अन्य कानुनी व्यवस्थामा आवश्यक संशोधनका लागि संसदमा आफूले सुझाव दिएका जानकारी समेत दिए । सो अवसरमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकता सुरु भएको १८ महिना बितिसक्दासमेत कार्यान्वयनमा ढिलाइ भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

महामन्त्री थापाको ‘के अदालतबाट समाधानको सम्भावना छ?’ भन्ने जिज्ञासामा अध्यक्ष केसी र उपाध्यक्ष शर्माले मुद्दा विचाराधीन रहेको र सर्वोच्च अदालतले सबै पक्षको मिसिल मागिसकेको जानकारी गराए ।

कमेन्ट गर्नुहोस्