देश । अभिनेत्री श्वेता खड्का पछिल्लो समय फिल्म भन्दा पनि बिजेनस र विभिन्न इभेन्टमा सक्रिय छिन् । उनकै निर्माण तथा अभिनय रहेको पछिल्लो फिल्म ‘कान्छी’ युट्युब रिलिज समेत भईसकेको छ । तर , उनले अझै पनि नयाँ फिल्मको सुरसार गर्न सकेकी छैनन् । यद्धपि उनलाई ‘कान्छी’ फिल्म युट्युबमा हेर्ने धेरैले नयाँ फिल्म कहिले आउँछ भनेर प्रश्न गरिरहेका छन् । यद्दपी उनले नयाँ फिल्म निर्माणमा चासो देखाएकी छैनन् । बरु , उनको हिमालयन जाभाको नयाँ आउटलेट बालुवाटारमा खोलिरहेकी छिन् । यिनै श्वेताले सोमबार नेपाल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको शिलान्यास गरेकी छिन् । उनीसहित क्यान्सर रोग विशेषज्ञ डाक्टरहरुको समुहले गोदावरी नगरपालिकाको छम्पीमा दुइ वर्ष भित्र हस्पिटल निर्माण गर्ने अठोट सहित शिलान्यास गरेका छन् ।
क्यान्सरबाट श्रीमान् श्रीकृष्ण श्रेष्ठ र भिनाजु गुमाएकी श्वेताले क्यान्सर अस्पताल निर्माणमा आफू पनि जोडिन पाएकोमा खुसी व्यक्त गरिन् । नेपालमा उत्कृष्ट क्यान्सर अस्पताल बनाउन आफ्नो टिमले कुनै कसर नछाड्ने उनले प्रतिबद्धता जाहेर गरिन् । सय शैय्याको बन्ने यो अस्पतालको लागि उनि गत ५ वर्ष देखि नै प्रक्रियामा लागेकी थिइन् ।
अस्पताल निर्माण भएपछि क्यान्सर पीडितलाई न्यून पैसामा उपचार गर्ने उनको भनाई छ । अभिनेत्री श्वेताले अस्पताल निर्माणका लागि सबैसँग सहयोगको अपिल पनि गरिन् । क्यान्सरसँग लडिरहेका तर उपचार गर्न पैसा नभएकाहरुलाई सहयोग गर्न आफू क्यान्सर अस्पताल निर्माणमा जोडिएको उनी बताउँछिन् ।









