विदेश । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट खेलमा चेन्नई सुपरकिंग्सले पुनः हार बेहुर्नु परेको छ । सोमबार राति भएको खेलमा राजस्थान रोयल्सले ७ विकेटको फराकिलो अन्तरले चेन्नईलाई पराजित गर्यो। चेन्नईले दिएको १ सय २६ रनको सामान्य लक्ष्य राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
राजस्थानको जितमा जोस बटलरले नटआउट ७० रन जोडे । प्लेयर अफ दि म्याच भएका उनले ४८ बलमा ७ चौका र २ छक्क प्रहार गरे। कप्तान स्टिभ स्मिथले नटआउट २६ रन बटुले। जितसँगै राजस्थानले अंक तालिकाको पुछारको स्थान छाडेको छ। राजस्थान १० खेलबाट ८ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।
टस जितेर ब्याटिङ रोजेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन मात्र जोड्न सक्यो । उसका लागि रवीन्द्र जडेजाले सबैभन्दा बढी नटआउट ३५ रन जोडे। उनले ३० बल खेल्दा ४ चौका प्रहार गरे। कप्तान महेन्द्रसिंह धोनीले रनआउट हुनुअघि २८ बलमा २८ रन जोडे। हारपछी चेन्नई अंक तालिकाको पुछारमा झरेको छ । चेन्नईको १० खेलबाट ६ अंक छ। आइपिएलमा मंगलबार राति किंग्स ११ पञ्जाव र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ। (एजेन्सी)












