विदेश । ७४ वर्षको उमेरमा श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्ष प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् । उनले राष्ट्रपति गोटाभया राजपाक्षसँग आइतबार प्रधानमन्त्री पदको शपथ लिएका हुन् । महिन्दा वर्तमान राष्ट्रपति गोटाभयाका दाइ हुन् । उत्तरी कोलम्बोस्थित ऐतिहासिक केलानिया बौद्ध मन्दिरमा आयोजित कार्यक्रममा भाइ गोटाभया राजपाक्षसँग शपथ लिएका हुन् ।
अगस्ट ५ मा भएको संसदीय चुनावमा आफ्नो दल श्रीलंका पोडुजना पेरामुना (एसएलपीपी) विजयी भएसँगै उनी पुनः प्रधानमन्त्री बनेका हुन् । २ सय २५ सदस्यीय संसद्मा राजपाक्ष नेतृत्वको गठबन्धनले दुई तिहाइ सिट जितेको छ । एसएलपीपी एक्लैको भने १ सय ४५ सिट छ । प्रमुख प्रतिपक्षी दल एसजेबी ५४ सिटमा सीमित भएको छ । तमिल अल्पसंख्यकलाई नेतृत्व गर्ने दल १० सिटमा विजयी भएको छ । त्यसैगरी अन्य १२ साना दलले १६ सिट जितेका छन् । श्रीलंकाको राजनीति पछिल्ला दुई दशक राजपाक्ष परिवारमा केन्द्रित छ । (एजेन्सी)











