देश । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा लगाइएको निषेधाज्ञा १७ गते राति सकिदैछ । गत भाद्र ३ गतेदेखि निषेधाज्ञा लगाईएको छ यद्दपी संक्रमितको संख्या बढ्दो नै छ । पछिल्लो समय भाद्र १० गते एक साता बढाईएको निषेधाज्ञा अब के हुन्छ ? भन्ने चासो यतिबेला उपत्यकावासीलाई छ । यसैक्रममा मंगलबार काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङ बसेर जारी निषेधाज्ञालाई निरन्तरता दिने वा अन्त्य गर्ने भन्ने निर्णय लिन गृहमन्त्रालयलाई नै अनुरोध गर्ने भएका छन् ।
भर्चुअल मिटिङको सुझावसहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाउने तयारी भईरहेको छ । तीनवटै प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिने नदिनेबारे आ–आफ्ना जिल्लाका स्थानीय तह, स्वास्थ्य कार्यालयसहित स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत सरोकार निकायसँग लिखित राय लिएर सुझाव पठाउने तयारी गरिरहेका हुन् ।










