इटाली बन्यो युरो च्याम्पियन

खेलकुद । घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै इटालीले युरो २०२० को उपाधि जितेको छ । सोमबार विहान लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टीमा इंग्ल्याण्डलाई ३-२ गोलको नतिजामा पराजित गर्दै इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जितेको छ । युरो कपमा सन् १९७६ पछि पहिलो पटक उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो।

पेनाल्टी सुटआउटमा इटालियन गोलकिपर डोन्नरुम्माले इंग्ल्यान्डका दुई प्रहारलाई विफल पारेका थिए । इंग्ल्यान्डको एउटा प्रहार भने पोस्टमा लागेको थियो। पेनाल्टी सुटआउटमा इटालीका बेलोटीको प्रहारलाई इंग्लिस गोलकिपर पिकफोर्डले विफल पारेका थिए । यस्तै इंग्ल्यान्डका रास्फोर्डको प्रहार भने पोस्टमा लाग्यो । लगत्तै इंग्ल्यान्डका जाडोन सान्चोको प्रहारलाई इटालियन गोलकिपर डोन्नरुम्माले विफल पारे।

इटालीका पाँचौ पेनाल्टी हानेका जोर्गिन्होको प्रहारलाई पनि इंग्लिस गोलकिपरले विफल पारे। इंग्ल्यान्डका लागि पाँचौ पेनाल्टी प्रहार गरेका बुकायो साकाको प्रहारलाई इटालीलाई गोलकिपर डोन्नरुम्माले छेक्दै आफ्नो टिमलाई विजयी बनाए । पेनाल्टी सुटआउटमा इटालीका लागि बेरार्डी, बोनुची र बर्नार्डिचीले गोल गरे। इंग्ल्यान्डका ह्यारी केन र ह्यारी माग्युर मात्र पेनाल्टीमा सफल भए।

त्यसअघि , खेलको दोस्रो मिनेटमा ल्युक शहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको इटालीका लागि ३७ वर्षीय डिफेन्डर लियोनार्दो बोनुचीले बराबरी गोल फर्काएका थिए । बोनुचीले ६७औं मिनेटमा ६ यार्ड बक्स भित्रबाट प्रहार गर्दै इटालीलाई बराबरीमा ल्याएका थिए । उनको बराबरी गोलसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

सन् १९६८ मा युरो जितेको इटाली २००० र २०१२ मा फाइनल पुगेर पराजित भएको थियो । सन् २०१८ मा प्रशिक्षक रोबर्टो मान्सिनीले प्रशिक्षकको जिम्मेवारी लिएयता अपराजित रहेको इटालीले २००६ विश्वकपपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो । पहिलो पटक फाइनलमा पुगेको इंग्ल्याण्ड भने घरेलु मैदानमा फाइनल हार्ने तेस्रो मुलुक बनेको छ । यसअघि २००४ मा पोर्चुगल र २०१६ मा फ्रान्स घरेलु मैदानमा फाइनल हारेका थिए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्