उगेनसँग दयाहाङको जोडी

फिल्म । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘२ नम्बरी’मा भुटानी नायिका उगेन छोदेनको प्रवेश भएको छ । यसबारे निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जानकारी दिएको हो । भुटानी फिल्म क्षेत्रमा नायिका, निर्मात्री तथा निर्देशक समेत रहेकी उगेनले २ नम्बरीबाट नेपाली नेपालमा अभिनय यात्राको थालनी गर्दैछिन् । यसमा उनि अभिनेता दयाहाङ राईको जोडी बनेर दर्शक समक्ष प्रस्तुत हुनेछिन् ।

‘भुटानमा बलिउडका फिल्मसंगै नेपाली फिल्मलाई रुचाइन्छ । त्यहाँ नेपाली फिल्मसंग फिल्मकर्मीको क्रेज राम्रो छ । यसैले गर्दा पनि नेपाली फिल्ममा काम गर्न पाउँदा निकै खुसि छु’ उगेनले भनिन् । दयाको फ्यान समेत रहेकी उनले संगै काम गर्ने अवसर पाउँदा निकै उत्साहित रहेको प्रतिक्रिया दिईन् । दया पनि भुटानको कलाकारसंग जोडी बाधिदा उत्साहित नै छन् । ‘यसले दुइ देशको सम्बन्ध र संस्कृतिलाई पनि टेवा पुग्नेछ किनकी हामी दुइ देशकाका कलाकार एकसाथ काम गर्दैछौ । उनलाई स्वागत छ नेपालमा’ दयाले भने ।

यसैगरी निर्देशक लामाले स्क्रिप्टमा देखिएको भूमिका अनुसार उगेनलाई कास्ट गर्न लगिएको प्रस्ट्याए । ‘उँहासंग केहि वर्ष अगाडी फेस्टिभलमा भेट भएको थियो । त्यो समयमा मैले संगै काम गर्ने अवस्था आए अफर गर्छु भनेको थिए । त्यसरी हाम्रो सहकार्य प्रारम्भ भयो’ निर्देशक लामाले बताए ।

लामाको निर्देशनमा तयार हुने फिल्ममा दयाहाङ र उगेनसंगै पल शाह र वर्षा राउतको मुख्य अभिनय रहनेछ । दया र पल पहिलो पटक स्क्रिनमासंगै देखिदै छन् । यसमा यी दुइ मित्रको भूमिकामा निर्वाह गर्दैछन् । रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् । किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई सह–निर्माताको रुपमा छन् । आउँदो साताबाट छायांकन सुरु गर्ने तयारी रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । 

तस्वीर सौजन्य : उद्धव रसाइली
कमेन्ट गर्नुहोस्