रिक्सा चालकलाई सम्मान

फिल्म । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको कलाकार बुद्धि तामाङ अभिनीत फिल्म ‘धुलो’ ले बुधवार क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रमका बीच लामो रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मान गरेको छ । ठमेल, क्षेत्रपाटी क्षेत्रमा रिक्सा चलाउँदै आएका हिरालाल तामाङ र बलबहादुर श्रेष्ठलाई फिल्म टिमले सम्मान गरेको हो ।

उनीहरुलाई बरिष्ठ कलाकार नीर शाह, नेपाल टेलिभिजनका महाप्रबन्धक गोबिन्द रोक्का र फिल्मका निर्देशक प्रद्युम्न मिश्रले सम्मान गरेका हुन् । त्यस्तै, एक सयभन्दा बढी रिक्सा चालकलाई ‘धुलो’ अंकित ज्याकेट समेत प्रदान गरिएको थियो । कार्यक्रममा फिल्मका तर्फबाट नागार्जुन एकेडेमीमा रिक्सा मजदुरका दुईजना छोरा-छोरीलाई छात्रवृत्तिको व्यवस्था पनि मिलाइएको छ ।

कार्यक्रममा ‘धुलो’ ले गरेको सामाजिक कार्यको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतका अथितिले प्रशंसा गरेका थिए । कार्यक्रमपछि ‘धुलो’ मा विशेष भूमिकामा रहेका नीर शाह, कलाकार बुद्धि तामाङ, निर्देशक मिश्र, निर्माता संघका अध्यक्ष अधिकारीलगायतले रिक्सामा क्षेत्रपाटी परिक्रमा गरेका थिए ।

राजधानीमा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको कथामा फिल्म निर्माण गरेकाले उनीहरुकै सम्मानमा कार्यक्रम गरिएको निर्देशक मिश्रले बताए । दीपा धरेलको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, लक्ष्मी बर्देवा, बालकलाकार सुदीप कार्कीलगायतका कलाकारको अभिनय छ । लक्ष्मी गौतम र नानीराम फुँयाल निर्माता रहेको फिल्ममा केशव मिश्र र दीपक समीरको गीत, शंकर थापा र जुगल डंगोलको संगीत, रबिन आचार्यको छायांकन रहेको छ ।

कमेन्ट गर्नुहोस्