फिल्म । संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा ‘खुस्मा’ले सुखद सुरुवात गरेको छ । विहिबारदेखि नै दर्शकको चाँप हलमा देखिएको फिल्मले शनिवार आक्रामक व्यापार गर्ने निर्माण पक्षको आशा छ । फिल्मको प्रतिक्रिया लिन कलाकार धिरज मगर, उपासना सिंह ठकुरी विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्नेछन् ।
सिनेमाले काठमाडौं उपत्यका र मोफसफका ठुला शहर पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज र पूर्वी नेपालका धरान, इटहरी, बिराटनगर, दमक र बिर्तामोड लगायतका शहरमा राम्रो व्यापार गरिरहेको निर्देशक तथा निर्माता अशोक थापा मगरले जानकारी दिए ।
देशभरका मल्टीप्लेक्सदेखि सिगंल स्क्रिनसम्मले ‘खुस्मा’को शो थपेका कारण पनि यसको व्यापार राम्रो भएको अनुमान लगाउन सकिन्छ । बिहीबार करिब दुई सय शो पाएको सिनेमाले शुक्रबारका लागि तीन सय आसपासमा शो पाएको निर्माण पक्षको दावी छ । दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथले सिनेमाको शनिबारको व्यापार आक्रामक हुने विश्वास वितरकको छ ।
सिनेमाको प्रचार सामाग्री ‘रुकुम मैकोट’ गीत र टिजर तथा ट्रेलरले दर्शकमाझ बनाएको हाइपको फाइदा सिनेमालाई मिलेको हो । यो गीत अहिले पनि युट्युब ट्रेन्डिङ अन्तर्गत म्युजिक सेक्सनको शिर्ष स्थानमा छ । योसँगै सिनेमाका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीको जोडीलाई दर्शकले रुचाएका छन् । सिनेमा हेरेका अधिकांश दर्शकले सशस्त्र द्धन्द्धकालको कथामा आफुलाई पाएको बताएका हुन् ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।
सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले माओवाद युद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।










