नेटफ्लिक्सका डेमियन भन्छन् ‘हामीलाई राम्रो फिल्म चाहिएको छ’

फिल्म । बिहीबारबाट राष्टिय सभा गृहमा नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ)को औपचारिक उद्घाटनसँगै सुरु भएको छ । चाइनिज फिल्म ‘द कम्पोजर’ देखाउदै सुरु गरिएको फेस्टिभल फागुन १ देखि ५ सम्म चल्नेछ । उपत्यकाको सभागृहसँगै पर्यटन बोर्ड र सर्वनाम थियटरमा फेस्टिभलसँग जोडिएका विभिन्न गतिविधि हुनेछ । निफको दोस्रो दिन हलिउड निर्माता , पटकथा लेखकहरुले नेपाली फिल्मकर्मी माँझ आफ्नो भावना साटेका छन् । कार्यक्रममा अमेरिकी फिल्ममेकर ज्याक स्टेन्ज, ल्यारी कासानोफ, डेमियन डि फ्रोबिल र अष्ट्रेलियन डकुमेन्ट्री मेकर जोयलन हफको उपस्थिति रहेको छ भने बलिउड फिल्मका निर्माता तथा निर्देशक प्रकाश झा पनि छन् ।

शुक्रबार लाजिम्पाटको होटल र्याडिसनमा विभिन्न तीन सेसनमा चलेको छलफलमा उनीहरुले यस्तो धारणा राखेका हुन् । हलिउडको डिज्ने स्टुडियोमा एनिमेटरको रुपमा काम गरेका किरणभक्त जोशीले सहजीकरण गरेको कार्यक्रममा अमेरिकी फिल्ममेकर ज्याक स्टेन्ज, ल्यारी कासानोफ, डेमियन डि फ्रोबिल र अष्ट्रेलियन डकुमेन्ट्री मेकर जोयलन हफले आआफ्नो धारणा राखेका थिए । ल्यारी कोफले हलिउडमा ट्रु लाइज, टर्मिनेटर २, जजमेन्ट डे, मोर्टल कम्ब्याट जस्ता फिल्म निर्माण गरेका छन् भने लेखकसमेत रहेका ज्याक स्टेन्जले एक्स मेन : फस्ट क्लास, थोर, कोडी ब्यांक्स आदि फिल्म निर्माण गरेका छन् । डेमियन डि फ्रोबिल भने नेटफ्ल्क्सि, पारामाउन्ट पिक्चर्स र ड्रिमवर्कमा स्टुडियो एक्जुकेटिभको रुपमा काम गरेका व्यक्ति हुन् । जोयलेनले भने स्टेजिङ पोस्ट नामक फिल्म बनाएका छन् ।

एक समय थियो, फिल्मको एक मात्र बजार हल थियो । तर, प्रविधीको विकाससँगै आज संसारमा सिनेमा हलबाहेक थुप्रै प्लेटफर्म छन् जहाँ दर्शक र फिल्ममेकर दुवै फिल्मको माध्यमबाट अन्तरक्रिया गर्छन् । नेटफ्लिक्स, अमेजन प्राइम नेपाली फिल्ममेकरबीच पनि परिचित यस्तै डिजिटल प्लेटफर्म हुन् । यि प्लेटफर्ममा हलमा लागेका फिल्म त हेर्न पाइन्छ नै, नलागेका फिल्म पनि यहाँ हेर्न पाइन्छ । वैकल्पिक फिल्म बजारको खोजीमा रहेका नेपाली फिल्ममेकरका आँखा पनि नेटफ्लिक्स र अमेजन प्राइममा टिकेका छन् । तर, त्यहाँसम्म पुग्ने कसरी ? नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको अवसरमा नेपाल आएका अन्तराष्ट्रिय फिल्ममेकरले नेपाली फिल्ममेकरले विश्वलाई रोचक लाग्ने कथा भन्न सके, नेपाली फिल्मले पनि ति प्लेटफर्ममा स्थान पाउन सक्ने बताएका छन् ।

‘फिल्ममेकिङ इन एन एज अफ स्ट्रिमिङ’ शीर्षकबाट सुरुवात गरिएको छलफलमा सो विषयमा धारणा राख्दै सबै विदेशी फिल्मकर्मीले स्ट्रिमिङ साइटलाई ज्यादाभन्दा ज्यादा फिल्मको आवश्यकता रहेको बताउँदै लोकल कथामा ग्लोबल दर्शकलाई रिझाउने कथा बनाउन सके नेपालले पनि स्ट्रिमिङ साइटमा स्थान पाउने धारणा राखेका थिए । ‘बजारभन्दा विषय ठूलो हो,’ छलफलमा बोल्दै डेमियनले भने, ‘यदि तपाईंसँग विश्वले हेर्न चाहिररहेको विषय छ भने तपाईंहरुको फिल्ममा पनि नेटफ्लिक्स वा अमेजनले चासो लिन्छ । बस, उनीहरुले तोकेको क्वालिटी पुगेको हुनुपर्यो ।’ डेमियनको तर्कमा सही थाप्दै ज्याक स्टेन्जले नेपाल भौगोलिक रुपमा र साँस्कृतिक रुपमा सुन्दर रहेकाले नेपाली फिल्ममेकरले यिनै कथा भन्न बल गर्नु पर्ने बताएका थिए ।

उनीहरूले अहिले सक्रिय रहेका स्ट्रिमिङ साइटको प्राथमिकता राम्रा फिल्म रहेकाले नेपालले पनि राम्रो फिल्म बनाएको छ भने त्यहाँ स्थान पाउने तर्क गरेका थिए । तर, उनीहरुको सुझाव थियो, ‘ तपाईंलाई आफ्नो कथामा विश्वास छ भने उनीहरु आउने बाटो नकुर्नुस । उनीहरुको ढोका ढकढक्याउन जानुस् ।’ डेमियनले नेट्फ्लिक्स लगायतका डिजिटल प्लाटफर्मले फिल्म मेकरलाई थप उर्जा दिने स्वीकार्दै नेपाल पनि आफुहरुको टार्गेटमा रहेको बताए । ‘हामी जनसख्याको हिसाबले नेटफ्लिक्सलाई अगाडी लग्दैछौ साथै त्यहाँ खोजिने फिल्मको मापन पनि एक निर्देश हो नै’ उनले भने । बिहीबार सुरु भएको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलको दोस्रो दिन राष्ट्रिय सभा गृहमा भने फिचर फिल्म प्रदर्शन गरिएको थियो । त्यसैगरि पर्यटन बोर्डको हलमा सर्ट फिल्म प्रदर्शन गरिएको थियो । शनिबार भने फिल्म प्रदर्शनसँगै बलिउड निर्देशक प्रकाश झाको मास्टर क्लासको कार्यतालिका रहेको छ । शनिबार साढे तीन बजे निर्देशक झाले फिल्म निर्देशनसम्बन्धी दुई घन्टाको क्लास दिनेछन् ।

कमेन्ट गर्नुहोस्