संगीत । पछिल्लो समयको व्यस्त संगीतकार हुन् अर्जुन पोखरेल । उनले संगीत भरेका धेरै गीतहरु चर्चामा छन् । दर्शक र श्रोताको मन जित्दै गएपछि उनमा चुनौती पनि थपिएको नै छ । हालै, अर्जुनले संगीत भरेको फिल्म ‘लभ डायरिज’मा समावेश ‘छमछम’ बोलको गीतलाई लिएर प्रश्न उठ्यो । विशेषगरि, यो गीतको एउटा पाटोमा बाल लोक–गायिका कमला घिमिरेको स्वर पनि समावेश गरिएको छ । कमलाको स्वरलाई चर्चाकै लागि प्रयोग गरिएको देखिन्छ । तर , अर्जुनले यसलाई स्वीकारेनन् । ‘कोही मान्छे भाइरल छ भन्दैमा म पछि लाग्दिन, तर भाइरल पनि छ र प्रतिभा पनि छ भने म काम गर्छु’ उनले भने, कमला घिमिरेको प्रतिभा नेपालका चलेका लोकदोहोरी गायक–गायिकाको भन्दा पनि अगाडि हुन सक्छ ।’
साथै , उनले फिल्मको कथा अनुसार नै प्रयोग भएको खण्डमा गीतमा प्रयोग गर्दा कसरी वेइज्जत हुन्छ भनेर उल्टै प्रश्न पनि गरे ? ‘हामी जस्तो गीतमा नाचेपनि बिहेको समयमा अन्तिममा लोक गीतमा नै नाँच्छौ’ उनले भने ,’यदि, म निर्माताको कुरामा पनि कन्भिन्स छु र गीत तयार गरेको छु भने यसमा कसरी वेइज्जत हुन्छ र ?’ उनले आफुले लोकदोहोरी गीत मार्फत नै संगीत यात्राको सुरुवात गरेको बताउदै यो सबैको प्रिय रहेको बताए । उनले आफु फिल्मको टिमसंग यस विषयमा पूर्णतया सहमत रहेको समेत प्रस्ट्याए ।
सौरभ चौधरी निर्देशित लभस्टोरी फिल्ममा सुशील, रुबिना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन् । संजय लामाले खिचेको सिनेमा मिलन श्रेष्ठले सम्पादन गरेका छन् । मधु बास्तोलाको कथा/पटकथा रहेको सिनेमामा सम्पादक साहिल खानले सह-निर्देशकको काम सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको सिनेमामा सरोज तुलाधरको सह-निर्माण छ । फिल्मलाई उपत्यकामा रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ ।









