बोर्डमै त्यागे प्राण

दिनमा घाम भए रातमा जून

जति हाँसौँ, जति बाँचौँ, दुई दिनको पाहुना

भावीले नै लेखे पनि भाग्य आफैँ कोर्नुपर्ने

बाँच्ने आशिष दिए पनि उमेरलाई चोर्नुपर्ने

मुटुमा माया आँखामा पानी ढलपल गर्ने यो जिन्दगानी

बीचैमा साथ छाडेर जान्छन्, अधुरो बनेर कुनै कहानी ।

यो गीत नेपाली फिल्म ‘पाहुना’ को हो । यो गीतले तात्कालिन समयमा निकै चर्चा पाएको थियो , अहिले पनि पाईरहेको छ । । फिल्मलाई केशव भट्टराईले निर्माण गरेका थिए भने शिव रेग्मीले निर्देशन । यसमा देखिएका थिए श्रीकृष्ण श्रेष्ठ । माथि उल्लेखित गीतमा लेखीए झैँ यी तिनै दुइ दिनको पाहुना नै भए । नेपाली फिल्ममा सबैका प्यारा बनेका निर्देशक शिव रेग्मी , कलाकार श्रीकृष्ण श्रेष्ठ र निर्माता केशव भट्टराईले आफ्नो देह त्यागेर स्वर्गीय भइसकेका छन् । तर , उनका कृतिले गर्दा सदैव नेपालीको मनमा भने रहनेछन् ।

आइतवार हर्ट अट्याकका कारण देह त्यागेका केशवसँगै धेरै सपना पनि हराएका छन् । गत वर्षको चैत्रमा नेपाल सरकारले उनलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । थुप्रै समय रिक्त रहेको पदलाई पूर्ति गर्ना साथै नेपाली फिल्मनगरीले सम्भावना देखेको थियो । ‘केशवले नगरे कसले गर्छ ?’ भन्ने धेरै फिल्मकर्मी थिए । हुन् त उनि बोर्ड अध्यक्ष भएदेखि नै सबैले सम्भावना औल्याएका थिए । किनकी उनले विभिन्न संघ , संस्थामा रहेर काम गर्दै अगाडी बढेका थिए । साथै उनि बिद्युत प्राधिकरणको कर्मचारी पनि थिए । जसले गर्दा उनलाई समस्यासँगै प्रसासकिय हलको बारेमा पनि थाहा थियो । २०२६ सालमा बनेको चलचित्र ऐनको भरमा चलिरहेको उद्योगलाई नयाँ दिशा दिन उनी नयाँ चलचित्र ऐन बनाउने र त्यसलाई पारित गर्ने प्रक्रियामा लागेका थिए । आफूपछि फिल्मलाई अधिक माया गर्ने भट्टराईले फिल्मकर्मीको अभिभावक संस्था चलचित्र विकास बोर्डकै प्रांगणमा देहत्याग गरे। बिसञ्चो भएको आशंकामा बोर्डबाट नजिकै रहेको ओम अस्पताल पुर्‍याउँदा डाक्टरले उनको निधन पहिले नै भइसकेको जानकारी गराएका थिए ।

सायद भावीको लेखा नै यस्तै थियो वा उनको फिल्म प्रतिको माया जसकारण उनले देह पनि त्यहि त्यागे जहाँ उनको सर्वाधिक माया थियो । भट्टराई फिल्म क्षेत्रमा उदाहरणीय कलाकार थिए । तर, उनी उदाहरणका रूपमा आउँथे, कमाउने र गुमाउने निर्मातामा । ‘आफ्नो मान्छे’ फिल्मबाट लाखौँ कमाएका उनले यही फिल्मको पैसाले काठमाडौँमा घर बनाएका थिए । तर, ‘पाहुना’ र ‘सो सिम्पल’मा नराम्रोसँग डुबेपछि उनी घर बेचेर डेराकै जीवनमा फर्किएका थिए। ‘घरबाट चम्चा पनि नलिई डेराको जीवनमा फर्किएको थिएँ,’ भट्टराई बारम्बार भन्ने गर्थे, ‘नीतिगत रूपमा बलियो नबनाएसम्म धेरै निर्माताको हालत मेरोजस्तै हुन्छ ।’

आइतबार पनि भट्टराई फिल्मकै कामले बेलुकीसम्म सञ्चार मन्त्रालयमा सदस्य सचिव महेन्द्र साँखीसँगै थिए । आउँदो माघमा प्रदेश नं. ५ को भैरहवामा फिल्म महोत्सव गर्ने बोर्डको तयारी थियो । सोही कार्यक्रमको तयारी सञ्चारमन्त्रीसँग ब्रिफ गर्न दुवै साँझसम्म मन्त्रालयमा बसेका थिए । मन्त्रालयबाट छुटेका भट्टराई बोर्डकै सदस्य तथा फिल्म निर्माता नरेन्द्र महर्जनको कीर्तिपुरस्थित घर गएका थिए । त्यहाँ खानपिन गरेर फर्किएका उनी बाटोमै सिकिस्त भएका थिए । उनी सोमबार कलाकार दीपक क्षत्रीको आर्यघाटमा अन्त्येष्टि सकेर हेटौँडामा हुने भनिएको ‘अन्तरक्रिया’ मा सहभागी हुन् त्यसतर्फ जाने तयारीमा थिए । तर, नियतिको खेल, सोमबार भट्टराई क्षत्रीकै शव छेउ जलिरहेका थिए ।

दुवैको शवलाई आर्यघाटमा लग्नुअघि बोर्ड परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो भने आर्यघाटमा दुवैलाई राष्ट्रिय सम्मान प्रदान गरिएको थियो । आइतवार मात्र उनले कलाकार क्षत्रीको अन्तेष्टीका लागि २५ हजार रुपैया बोर्डले दिने निर्णय गराएका थिए । ‘फिल्मकर्मीको अन्तेष्टीका लागि कसैको अगाडी हात फैल्याउनु नपरोस’ उनले बारम्बार भन्ने गर्थे । यसैले त उनि यी सब कुरा नीतिगत रुपमै आउनु पर्छ भन्नेमा जोड दिन्थे । निजामती कर्मचारी भईसकेकोले होला उनले गर्ने काम र ल्याउने प्रस्ताव नियमसंगत हुन्थ्यो । उनले केहि कमाए , केहि यहिँ गुमाए तर मान्छे भने प्रसस्तै कमाए । उनले नेपाली फिल्मबाट हासिल गरेको उपलब्धि नै मलामी रहेछ , जुन उनलाई अन्तिम श्रदान्जली दिएको आएको भिडले प्रस्ट्याउथ्यो । अनि पाएको सम्मान रहेछ , जसले फिल्मकै कारण राष्ट्रिय सम्मान पाए ।

कमेन्ट गर्नुहोस्