काठमाडौँ । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’को अभिनय रहेको म्युजिक भिडियो ‘बसौँ हजुर’ सार्वजनिक भएको छ । बसन्त थापा मगरको शब्द, संगीत तथा स्वरमा तयार पारिएको रोमान्टिक गीतको भिडियोमा जोगिन्दरलाई मोडल सेजल कँफियासँग रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। हास्य भूमिकामार्फत दर्शकमाझ लोकप्रिय बनेका जोगिन्दर र सेजलबीचको केमेस्ट्री भिडियोमा आकर्षक देखिएको छ ।
भिडियोमा लामो समयको वैदेशिक वा बाहिरी बसाइपछि गाउँ फर्किँदाको खुसी, बाल्यकालका साथीभाइसँगको आत्मीय पुनर्मिलन तथा प्रियसीसँगको सामीप्यलाई मुख्य विषयवस्तु बनाइएको छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण ग्रामीण परिवेश, हरियाली खेतबारी, नदी किनार तथा परम्परागत नेपाली गाउँघरका दृश्यहरूले भिडियोलाई थप आकर्षक र जीवन्त बनाएका छन्। रामेश्वर हुमागाईं र शौखिन तिमल्सिनाको छायांकन रहेको भिडियोको सम्पादन शौखिन तिमल्सिनाले गरेका हुन्।
पछिल्लो समयका चर्चित तथा व्यस्त निर्देशक समन अधिकारीको निर्देशन रहेको भिडियो ‘रेस्क्यु क्रिएसन’को ब्यानरमा निर्माण गरिएको हो। भिडियोले नेपाली गाउँघरको मौलिकता, प्रेम र पुराना सम्झनालाई ताजा गराउने प्रयास गरेको छ ।










