
फिल्म । आउँदो दसैँलाई लक्षित गर्दै आज घटस्थापनादेखि अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ले हलमा आफ्नो प्रदर्शन सुरु गरेको छ । प्रचार शैली, बलियो ‘स्टारकास्ट’ र गीत (छड्के सलाम)का कारण फिल्मको ‘हाइप’ राम्रो बनेको फिल्ममा ३० वर्ष टेक्न लागेकी छोरीका लागि योग्य वर खोज्न एक परिवारले गरेको संघर्षलाई फिल्मले हास्य शैलीमा देखाएको छ ।
प्रदर्शनको पूर्वसन्ध्यामा भक्तपुरस्थित क्यूफएएक्स हलमा फिल्मको प्रिमियर गरिएको थियो । नयाँ-पुराना पुस्ताका थुप्रै सेलिब्रेटीहरुको उपस्थिति रहेको प्रिमियरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का ट्याक्टर चलाएर पुगेकी थिइन् । फिल्ममा पनि उनले ट्याक्टर चलाएको दृश्य छ । स्वस्तिमा ट्याक्टर चलाएर भाटभटेनी पुग्दा उनलाई हेर्न ठूलो भीड उर्लिएको थियो ।
यसमा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकीय फिल्म हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । यसको कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
