अमेरिकामा वाग्ले सम्मानित

विदेश । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले अमेरिकाको न्युयोर्कस्थित हेम्पस्टेड नगरबाट सम्मानित भएका छन् । एशियन सम्पदा उत्सवको अवसरमा हेम्पस्टेड नगरका सुपरभाइजर (मेयर) जोन फेरेटी तथा कार्यकारी निर्देशक जहिद स्याएदको तर्फबाट उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

नेपालमा लोकतन्त्र सुदृढीकरणका लागि वाग्लेले पुर्‍याएको योगदानको कदर गर्दै कार्यकारी निर्देशक स्याएदले उनलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। आफ्नो-आफ्नो क्षेत्रमा सक्रिय रही राष्ट्रका लागि उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने क्रममा हेम्पस्टेड नगरले नेपालका वाग्लेलाई पनि सम्मान गरेको हो।

वाग्ले करिब दुई दशकदेखि लोकतन्त्र सुदृढीकरण, मानवअधिकार, नेपालको परराष्ट्र नीति तथा सैन्य मामिलाका विषयमा कलम चलाउँदै आएका स्थापित लेखक तथा विश्लेषक हुन्। उत्सवमा नेपालका वाग्लेसहित चीन, भारत, पाकिस्तान, बंगलादेश, कोरिया, टर्की र फिलिपिन्सका गरी आठ देशका व्यक्तित्वहरू सम्मानित भएका छन्।

सम्मानबाट आफू गौरवान्वित भएको बताउँदै वाग्लेले यसले नेपालमा लोकतन्त्रको संस्थागत विकास, मुलुकको समृद्धि तथा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विषयमा अझ उत्साहका साथ काम गर्न प्रेरणा मिलेको बताएका छन्।

कमेन्ट गर्नुहोस्