खेलकुद । युरो कप २०२० मा स्वीडेनले पहिलो जित हात पारेको छ । पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरीमा रोकिएको स्वीडेनले शुक्रबार स्लोभाकियालाई १-० गोलको नतिजामा पराजित गरेको छ । समूह ‘ई’ अन्तर्गत रुसमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रोकिएको थियो । यद्यपि, ७७औं मिनेटमा स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले रोबिन क्याएसेनमाथि पेनाल्टी एरियामा फाउल गरेपछि स्वीडेनले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीको सदुपयोग गर्दै एमिल फोर्सबर्गले स्वीडेनलाई अग्रता दिलाएका थिए । पहिलो खेलमा पोल्यान्ड २-१ को नतिजामा पराजित गरेको स्लोभाकियाको यो दोस्रो खेल हो । जितसँगै दुई खेलमा ४ अंक जोडेको स्वीडेनको नकआउट प्रवेशको सम्भावना प्रवल बनेको छ ।
यस्तै , शुक्रबार भएको समूह ‘डी’ अन्तर्गतको खेलमा चेक गणतन्त्र र क्रोएसियाले १-१ गोलको बराबरी खेलेका छन् । स्कटल्यान्डमा भएको खेलको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन ८ मिनेट बाँकी रहँदा चेक टीमले अग्रता लिएको थियो । क्रोएसियाका डेजान लोभरेनलले पेनाल्टी एरियामा चेक खेलाडी प्याट्रिक शिकमाथि फाउल गरेका थिए । भिडियो असिस्टेन्ट रेफ्रीले लोभरेनको फाउलमाथि पेनाल्टी दिएपछि शिकले अवसरको सदुपयोग गर्दै चेक गणतन्त्रलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा आक्रामक बनेको क्रोएसियाले ४७औं मिनेटमा बराबरी गोल निकाले पनि जितको भोक अपुरै रह्यो । इभान पेरिसिचले अन्द्रेज क्रमारिचको पासलमा सुन्दर गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै क्रोएसिया सुरुआती दुई खेलमा जितविहीन बनेको छ । पहिलो खेलमा इङ्ल्यान्डसँग १-० ले पराजित भएको क्रोएसियाको नकआउट प्रवेश सम्भावनामा पनि शंका उत्पन्न भएको छ । यस्तै पहिलो खेलमा पोल्यान्डलाई पराजित गरेको चेक टीमको बराबरीसँगै सुरुआती दुई खेलबाट ४ अंक जम्मा भएसँगै अन्तिम १६ प्रवेशको सम्भावना बलियो बनेको छ ।
यस्तै , शनिवार विहान भएको खेलमा इङ्ल्यान्ड टीम स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको छ । लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको समूह ‘डी’ अन्तर्गत आफ्नो दोस्रो खेलमा इङ्ल्यान्ड पुरानो प्रतिद्वन्दी स्कटल्यान्डलाई पराजित गर्न असफल रह्यो । खेलको सुरुआतदेखि नै बल पोसेसनमा प्रभुत्व जमाएको इङ्ल्यान्डले गोलका लागि अवसरको सिर्जना गरे पनि प्रभावकारी फिनिसिङ नहुँदा बराबरीमा चित्त बुझाउनु पर्यो । (एजेन्सी)









