फिल्म । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘च च हुई’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘सिल्की सिल्की बाल’ बोलको गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ भने यसलाई राजनले नै कम्पोज गरेका हुन् । गीतमा राजनसंगै अमृत घोले लामा र श्याम लामिछानेको शब्द रहेको छ । गीतमा आर्यन सिग्देल , मिरुना मगर र भोलाराज सापकोटा देखिएका छन् ।
फिल्ममा आर्यन र मिरुनाको जोडी दर्शकले देख्न पाउनेछन । सार्वजानिक गीतलाई मुस्ताङ्गको छुसाङ्गमा छायाँकन गरिएको हो । गीतमा आर्यन र मिरुनाको केमेष्ट्री गज्जबकै देखिएको छ । झन्डै एक साता लगाएर छायाँकन गरिएको गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन् । फिल्म रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्म मार्फत निर्माणमा आउँदैछन् । यसमा आर्यन र मिरुनासँगै भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ ।
फिल्मलाई साम्तेन भुटियाले निर्देशन तथा सम्पादन गरेका हुन् भने यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ । ‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । यसमा निमालामाको मेकअप , रेनिश फागोको कलर करेक्सन , श्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी , सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । फिल्म मङ्सिर ६ अर्थात् नोभेम्बर २२ मा रिलिज हुनेछ ।










