फिल्म । नेपाली संगीतबाट सिर्जनात्मक यात्रा सुरु गरेका राकेश शाह पछिल्लो समय म्युजिक भिडियो, वेब सिरिज तथा फिल्म निर्माणमा समेत सक्रिय छन् । गीतकार तथा क्रिएटिभ प्रोड्युसरका रूपमा काम गर्दै आएका शाहले नेपालीसँगै मैथिली भाषाका सामग्री निर्माणमा पनि आफ्नो संलग्नता बढाउँदै आएका छन् । शाहले ‘के तिमी मलाई माया गर्छौ’ र ‘कसरी भनूँ तिमीलाई’ लगायतका नेपाली गीत लेखेका छन् । गीत लेखनसँगै उनले म्युजिक भिडियो निर्माणतर्फ पनि आफ्नो यात्रा अघि बढाएका हुन् ।
सन् २०२३ मा आदर्श प्रोडक्सन्स स्थापना गरेपछि शाहको उत्पादन यात्रा थप व्यवस्थित रूपमा अघि बढेको छ । कम्पनीमार्फत ‘न्यानो साथ’देखि ‘जाने मान्छे गइहाल्छ छोडेर’सम्मका नेपाली म्युजिक भिडियो निर्माण भएका छन् । मैथिली भाषाका सामग्री निर्माणमा पनि उनको संलग्नता उल्लेखनीय छ । ‘चेहरा या चाँदनी गोरी’, ‘जवानी काफी’, ‘प्रियतम के हाथ’, ‘चलु अपन देश’ तथा ‘आहा के चेहरा’लगायतका म्युजिक भिडियोमा आदर्श प्रोडक्सन्स जोडिएको छ ।
संगीत उत्पादनपछि शाहले वेब सिरिज र फिल्म निर्माणतर्फ पनि पाइला अघि बढाएका छन्। उनी नेपाली तथा मैथिली भाषामा निर्माण भएको ‘आरती’ वेब सिरिजका क्रिएटिभ प्रोड्युसर हुन्। क्रिएटिभ प्रोड्युसरका रूपमा उनको अर्को महत्वपूर्ण परियोजना बहुभाषिक फिल्म ‘प्रतिबैराम’ हो ।
‘प्रतिबैराम’ मैथिली, नेपाली, हिन्दी र भोजपुरी भाषामा निर्माण भइरहेको फिल्म हो। यसको प्रदर्शन सन् २०२६ को अन्त्यतिर गर्ने तयारी गरिएको छ। उक्त परियोजनामा शाहले सिर्जनात्मक उत्पादनसम्बन्धी जिम्मेवारी सम्हालिरहेका छन्। मनोरञ्जन क्षेत्रसँगै शाहको शैक्षिक तथा व्यावसायिक पृष्ठभूमि भने इन्जिनियरिङ र निर्माण परियोजना व्यवस्थापनसँग सम्बन्धित छ। उनले सिभिल इन्जिनियरिङमा स्नातक तथा कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन्।
प्राविधिक शिक्षा र व्यवस्थापनको अनुभवसँगै गीत लेखन तथा दृश्य सामग्री उत्पादनमा सक्रिय शाहले नेपाली र मैथिली भाषामा विभिन्न विधाका मनोरञ्जन सामग्री निर्माणमा आफ्नो संलग्नता विस्तार गर्दै आएका छन्।










