फिल्म । अभिनेत्री नीता ढुङ्गानाको निर्माण ब्यानर नीता फिल्मस् को तर्फबाट फिल्म बन्ने पक्का भएको छ । ‘मःम हन्टिङ’को कास्टिङ लाइनअप पुरा हुन बाँकी रहँदा उक्त प्रोजेक्टलाई तत्कालको लागी थाती राख्दै लभस्टोरी स्कृप्टमा फिल्म निर्माणको लागी नीता अघि बढेकी हुन् । समुन्द्र भट्टले निर्देशन गर्ने फिल्मको वर्किङ टाइटल ‘माया’ राखिएको छ । फिल्मको मुख्य अभिनेत्रीमा नीता नै रहँदा लिड अभिनेतामा कोशिश क्षेत्री रहने पक्का भएका छन् ।
आफ्नै कथा रहने फिल्मको स्कृप्टलाई अन्तिम रुप दिन कोशिश व्यस्त छन् भने फिल्मको स्कृनप्ले र संवाद लेखनमा कोशिशलाई निर्देशक भट्टले सघाउँदैछिन् । फिल्ममा संगीत पनि कोशिशको नै रहनेछ । ‘मोक्ष’ डेब्यू हिरो कोशिशले पहिलो फिल्ममा देखाएको अभिनय कौशलताले चौतर्फी तारिफ भेटेको थियो भने त्यसपछि ‘पर्व’मा पनि उनले लोभलाग्दो अभिनय पस्केका थिए । यो फिल्मलाई सिक्किम कालिङपोङ लगायतका ठाउँमा छायाँकन गरिने निर्देशक भट्टले बताइन् ।
केहि बर्ष पहिले फिल्म ‘आधा पेज’ बाट एक्सन कटमा डेब्यू गरेकी युवा निर्देशक समुन्द्र यो बीचमा क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी हुन् । पछिल्लो पुस्ताका युवायुवतीहरुको जीवनशैलीलाई फिल्मले बोल्नेछ । भदौ दोश्रो साताबाट फ्लोरमा जाने बताइएको फिल्मका अन्य कलाकार र प्राविधिक लाइनअप पुरा हुन बाँकी छ ।











