निर्देशक झैँ फेरिए प्रदीप

फिल्म । ‘प्रसाद’ फिल्मको निर्देशन गरेर चर्चा बटुलेका निर्देशक दिनेश राउतले त्यसपछि निर्देशन गरेको फिल्म ‘प्रकाश’ को फस्टलुक सार्वजनिक गरिएको छ । लभ स्टोरी फिल्म मार्फत निर्देशकीय यात्रालाई अगाडी बढाई रहेका निर्देशक राउतले पछिल्लो समय सोसल ड्रामा जनरा रोजेका छन् । पर्व , प्रसाद पश्चात प्रकाश निर्देशन गर्दा निर्देशक राउतले लभर ब्वाईको भूमिका निर्वाह गर्दै आएका चकलेटी अभिनेता प्रदीप खड्कालाई समेत भिन्न रुपमा प्रस्तुत गर्दैछन् ।

प्रदीपकै जन्मोत्सवको दिन पारेर उनले फस्टलुक अन्तर्गत पोस्टर सार्वजनिक गरेका छन् । पोस्टरमा प्रदीप पूर्णरुपमा गाउँले लुक्समा देखिएका छन् नै साथमा छिन् , दीया मास्के । यी दुइको मिश्रित भावना झल्किने पोस्टर मार्फत निर्माण पक्षले एक वर्गको दर्शकलाई आकर्षित गरेको छ । लभर ब्वाईमा हल्का अभिनय गर्दै आइरहेका प्रदीपले यस फिल्म मार्फत गम्भीर प्रकृतिको दर्शकलाई समेत आफ्नो बनाउने प्रत्यत्नमा छन् ।

निर्देशक राउतले फिल्मको कथा अनुरुप प्रदीप सुहाउँदो रहेको छोटो प्रतिक्रिया दिए । ‘फिल्मको फस्टलुक सार्वजनिक गरेका छौँ । बाँकी आउने कन्टेनले बताउने छ’ दिनेशले भने । प्रदीप यसप्रकारको गेटअपमा पहिलो पटक देखिएका हुन् । पोस्टरमा दीयाले ऊनको पछ्यौरीले टाउको ढाकेकी छन् भने घाँटीमा मंगलसुत्र र नाकमा बुलाकी लगाएकी छन् । फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा वाचन गरेको छ ।

महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रदीप र दीयासँगै रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ । विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । आउँदो वर्ष २०७९ को भदौ १० गतेलाई प्रदर्शन मिती घोषणा गर्दै निर्माण टिमले फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको हो ।

कमेन्ट गर्नुहोस्