निफमा एक सय रुपैयाँमै फिल्म हेर्न पाइने

फिल्म । आगामी चैत ७ देखि ११ गतेसम्म काठमाडौँमा हुने ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करणमा एक सय रुपैयाँमै फिल्म हेर्न पाइने छ । तर, यो सुविधा भने विद्यार्थीका लागि मात्र उपलब्ध छ । उपत्यकामा फिल्म हलमै प्रदर्शन हुने महोत्सवमा छानिएका फिल्महरू विद्यार्थीले अग्रिम टिकेट खरिद गरेर वा उपलब्धताका आधारमा सोही समयमा एक सय रुपैयाँमै खरिद गर्न पाउने छन् । अन्यको हकमा भने टिकेट खरिद मुल्य चार सय राखिएको छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सवका अध्यक्ष केपी पाठकले जनाएका छन् । उनले फिल्मतर्फ विद्यार्थीलाई आकर्षित गर्न एक सय रुपैयाँमै टिकेट उपलब्ध गराइएको बताए ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर दुई किसिमले वर्गीकरण गरिएको महोत्सवमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वसँग छलफल गरिनुका साथै विभिन्न विषयमा कार्यशाला पनि सञ्चालन हुनेछ । महोत्सवमा ‘फिचर’ र लघु चलचित्रका साथै वृत्तचित्र विधामा अवार्ड वितरण गरिने छ । नेपाली कथानक चलचित्रको प्रतिस्पर्धा हुने ‘नेसनल पानोरमा’ मा जोन योञ्जनको ‘क्रलिङ क्रोज’, दिनेश राउतको ‘पूजार सार्की’, सिद्धार्थ पौडेलको ‘सानो संसार’ र लक्ष्मण सुवेदीको ‘सतीदेवी’ छनोट भएका छन् । यस संस्करणदेखि एआई प्रविधि वा सोसम्बन्धी विषयमा बनेको चलचित्रको प्रतिस्पर्धा पनि थप गरिएको महोत्सव अध्यक्ष पाठकले जानकारी दिए।

‘एआई फिल्म्स’ नाम दिइएको यो विधामा चीनको ‘एभ्री हेजिस्टेसन अफ योर्स क्यान डिस्ट्रोय दी वल्र्ड’, अर्जेन्टिनाको ‘दी एबिस’, फ्रान्सको ‘गोल्ड कास्टिङ’, पेरूको ‘दी ड्रिम, दी फग एन्ड दी रेन’ र अमेरिकाको ‘मब पार्ट १’ रहेको छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार पाँचसय अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ  । यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासङ्घ’ को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ  । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रलाई एक लाख नगद र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०÷५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचलचित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । एआई प्रविधिको चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्