दोस्रो सातामा ‘ज्वाइँ साब’

फिल्म । गत फूलपातीदेखि प्रदर्शनरत फिल्म ‘ज्वाइँ साब’ लाई दर्शकमार्फत सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै दोस्रो सातामा प्रवेश गरेको छ । निर्माण पक्षले फिल्म प्राप्त शोमा दर्शक भरिभराउ रहेको र प्रतिक्रिया सकारात्मक रहेको जानकारी गराउदै दोस्रो सातादेखि सो सङ्ख्या पनि वृद्धि भएको बताएका छन् । निर्देशक वसन्त निरौला, अभिनेता जीतु नेपाल, वितरक करण श्रेष्ठ लगायत फिल्मका टिम विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिईरहेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत दर्शकवाणीलाई सार्वजनिक गरिरहेका छन् ।

हल भिजिटकै करणमा निर्देशक निरौलाले फिल्मको विषयसँगै हासो र रोदनको मिश्रणलाई दर्शकले मन पराएको बताए । उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै भने,‘यसको विषयसँग दर्शक जोडिनु भएको पाएँ । फिल्मको पात्रसँग जोडिएकाले उहाँलाई फिल्म मन परेको छ । सम्पूर्ण परिवार नै दर्शक बनेर हलसम्म आउनुभएको छ । प्राप्त शोमा दर्शक भरिभराउ देख्दा मेहनतको फल पाएको आभाष भएको छ’, निर्देशक निरौलाले भने ।

पछिल्लो फिल्म ‘ह्यारीकी प्यारी’ मार्फत असफलता भोगेका अभिनेता नेपाल यसपटक प्राप्त दर्शकको साथले दंग छन् । उनी अभिनेत्री निती शाहसँग नेपालगंजका दर्शक भेट्न समेत पुगेका थिए ।

फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित आफ्नो फिल्म हेर्न दर्शकको उपस्थिति देखेर मख्ख छन् । प्रस्तुतकर्ता पण्डित आम दर्शकका लागि ‘ज्वाइँ साब’लाई अहिलेसम्मकै फरक कथाको फिल्म भनी दाबी गर्छन् ।

फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।

कमेन्ट गर्नुहोस्