‘मनोरञ्जनका खुराकले भरिपूर्ण ऐँचो पैँचो’ : निर्देशक कृषा

फिल्म । निर्देशक कृषा चौँलागाईँको डेब्यु निर्देशन रहेको फिल्म ‘ऐँचो पैँचो’ आउँदो भदौ १४ मा प्रदर्शन हुँदैछ । उनले फिल्मको ट्रेलरले पोलिटिकल भाइव्स दिएपनि पृष्ठभूमिमा मात्र सिमित रहेको बताइन । उनले भनिन्,’यसलाई हामीले सोसल ड्रामा भनेर बनाएका हौँ र यही हो पनि ।’

कृषाले ‘ऐँचो पैँचो’लाई आफूले निर्माण गरिरहेका ठूला क्यानभाषका फिल्मको निरन्तरताको रुपमा अथ्र्याइन् । ‘बीचमा मैले अलि फरक खालको फिल्म पनि बनाउने प्रयास गरेको थिएँ । तर म ठूलो क्यानभाषका फिल्म निर्माण गर्न रुचाउँछु र यो फिल्म पनि त्यस्तै छ,’कृषाले भनिन् । उनको परिभाषामा ठूलो क्यानभाषका चलचित्रको मतलब मसालेदार र मनोरञ्जनका खुराकले भरिपूर्ण चलचित्र हुन् ।

कलाकारहरू वर्षा राउत, मुकुन भुसाल, कोशिस क्षेत्री र स्वस्तिमा खड्का पनि उपस्थित कार्यक्रममा उनीहरूले फिल्मको कथा खोल्न नमिल्ने भन्दै आफ्नो भूमिका बताउन चाहेनन् । तर चलचित्रमा काम गर्दाको अनुभव सुखद रहेको प्रतिक्रिया व्यक्त गरे । योसँगै उनीहरूले राजनीतिप्रतिको बुझाइलाई लिएर लामै भाषण दिए ।

उनीहरूले राजनीति जीवनको अंग भएको बताउँदै तरकारी बजारमा समेत राजनीति हुने बताए । भदौ १४ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रमा सुशील सिटौला, रवीन्द्र झा, विशाल पहारी आदि कलाकारको पनि अभिनय रहेको छ । अभिमन्यू निरवीको कथा रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्