फिल्म । निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले चलचित्र विकास बोर्डले घोषणा गरेको सर्वाधिक व्यापार गर्ने २५ फिल्म भन्दा आफ्ना लागि ‘शाम्बाला’ उत्कृष्ट रहेको बताएका छन् । काठमाडौँमा आयोजित एक अन्तरक्रियामा उनले सर्वाधिक व्यापार गर्ने पच्चीस फिल्मको सूचीमा आफ्नै फिल्म ‘छ माया छपक्कै’ परेपनि नेपाललाई विश्वका फिल्म फेस्टिभलमा प्रतिनिधित्व गर्ने ‘शाम्बाला’ कलात्मक पक्षमा अब्बल रहेको बताए । फिल्मको व्यापार र कलात्मक पक्ष भिन्न रहेकाले बक्सअफिसको सफलतालाई तुलना गर्न नहुने उनको धारणा छ ।
‘नेपालमा मात्र होइन, छिमेकी मुलुक भारत र हलिउडमासमेत कलात्मक वा महोत्सवमा अब्बल साबित भएका फिल्महरू बक्सअफिसमा कमजोर देखिएका छन् । ठूलो बजार भएकाले तिनको व्यापार बढी भएको जस्तो लाग्छ, तर सर्वाधिक कमाउने फिल्मको सूचीमा ती पर्दैनन् । यस्तै, राम्रा फिल्मको सूचीमा बक्सअफिसमा सफल फिल्महरू प्रायः पर्दैनन् । तथापि, कलात्मक वा महोत्सव केन्द्रित फिल्मलाई राज्यले प्रोत्साहन गर्नुपर्छ, जसले बिस्तारै घरेलु बजारमा पनि बलियो उपस्थिति बनाउन सक्छ ।’
निर्देशक लामाले कुनै फिल्मले मनग्य आम्दानी गरेकै भरमा त्यसलाई राम्रो मान्न नसकिने बताए । उनले भने,‘केही दिन अगाडि मात्रै विश्वका १०० उत्कृष्ट फिल्मको सूची निस्किएको छ, जहाँ नम्बर एकमा प्यारासाइट छ । व्यापार हेर्ने हो भने त्यहाँ अवतार वा एभेन्जर्स इन्डगेम हुनुपर्ने । त्यसैले फिल्म उत्कृष्ट बन्नुमा व्यापार नभइ कलात्मक पाटो महत्वपूर्ण हुन्छ ।’
उनले घरेलु बजारमा महोत्सवमा प्रशंसित फिल्मको व्यापार कमजोर हुनुमा दर्शकको स्वाद नमिल्नु प्रमुख कारण रहेको बताए । फिल्म समीक्षकका रूपमा कलात्मक फिल्मको प्रवर्द्धनमा सकिए रहेका निर्देशक लामा फिल्मकर्मी बनेपछि भने यस्ता फिल्म निर्देशन गर्न नसकेको स्वीकार गर्छन् ।
‘महोत्सवमा पुग्ने फिल्म र नेपाली दर्शकको स्वादबीच तालमेल नमिलेको हुन सक्छ । यो स्वाभाविक हो, किनभने विश्व फिल्मसँग प्रतिस्पर्धा गर्दा सबै दर्शकका लागि उपयुक्त नहुन सक्छ । तर, यस्ता फिल्मको निर्माण निरन्तर हुनुपर्छ, तब मात्र हामी घरेलु दर्शकको सङ्ख्या बढाउन सक्छौँ’, उनले भने ।










