खुसी र तनाव समेटिएका ‘बाः एक योद्धा’

फिल्म । नेपाली फिल्म ‘बाः एक योद्धा’ का दुई नयाँ पोस्टर सार्वजनिक गरिएका छन् । निर्माण टिमले सोमबार सार्वजनिक गरेका पोस्टरमा फिल्मका मुख्य कलाकारलाई फरक-फरक भावमा प्रस्तुत गरिएको छ । सार्वजनिक पोस्टरहरूले फिल्म पूर्ण रूपमा पारिवारिक कथावस्तुमा आधारित रहेको संकेत गरेका छन्। पहिलो पोस्टरमा एउटा सुखी परिवार घरको आँगनमा सामूहिक तस्बिर खिचाइरहेको दृश्य देखाइएको छ। पोस्टरमा दिव्यदेव पन्त र झरना थापा बसेका छन् भने सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मा पछाडि उभिएका छन्।

रातो माटोले लिपपोत गरिएको चिटिक्क परेको घर, दसैँको माहोल झल्काउने परिवेश र परिवारसँगै रहेको कुकुरले नेपाली मध्यमवर्गीय परिवारको जीवनशैलीलाई चित्रण गरेको देखिन्छ । पोस्टरमा सबै पात्र हँसिला अनुहारमा देखिएका छन्, जसले खुसी र आत्मीय पारिवारिक सम्बन्धको अनुभूति गराउँछ ।

दोस्रो पोस्टरमा भने तनाव, कौतूहल र रहस्य झल्किएको छ। यसमा झरना थापा र सुहाना थापाको अनुहारमा अचानक घटेको कुनै अनपेक्षित घटनाप्रतिको कौतूहल देखिन्छ । दिव्यदेव पन्त र अनिल बुढाथोकीको अनुहारमा रिसको भाव छ भने माओत्से गुरुङ कुटिल मुस्कानसहित प्रस्तुत भएका छन् । उनको अभिव्यक्तिले फिल्ममा नकारात्मक वा रहस्यमय पात्रको भूमिका हुन सक्ने संकेत गरेको छ ।

दुवै पोस्टरले एउटा सुखी परिवारको जीवनमा अचानक आउने अप्रत्याशित घटनापछि उत्पन्न हुने पारिवारिक उतारचढाव र त्यसलाई सामना गर्ने संघर्ष नै फिल्मको मुख्य कथावस्तु रहेको अनुमान गर्न सकिन्छ । निर्देशक हरि लम्सालका अनुसार फिल्म नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीको कथामा आधारित छ ।

फिल्ममा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा, अनिल बुढाथोकी र माओत्से गुरुङ मुख्य भूमिकामा छन् । हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।

शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । ‘बाः एक योद्धा’ लाई आशिष एच. तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्