फिल्म । केहि समय यता विराज भट्टको डेब्यु निर्देशन रहेको फिल्म ‘साङ्लो’ ले रिलिज मिति तय गरेर पनि प्रदर्शन हुन् सकेको छैन । गत छठलाई लक्षित गर्दै कार्तिक १५ मा प्रदर्शन मिति तय गरेको फिल्मले नयाँ रिलिज डेट फागुन ९ घोषणा गरेको थियो । महाशिवरात्रीलाई लक्षित गर्दै प्रदर्शन तोकिए पनि अन्तत फिल्म उक्त मितिमा प्रदर्शन नहुने सम्भावना बढेको छ । बुझीए अनुसार प्राविधिक कामले केहि समय प्रदर्शनमा ढिलाई भएको फिल्मको रिलिज गर्न वितरक तय नहुदा डेट हेरफेर भईरहेको हो । आउँदो फागुन ९ गते विभिन्न वितरकको फिल्म भएपछी यतिबेला विराजले पुनः डेट सार्ने मनसाय बनाएका छन् ।
दशक अगाडी एक्सन स्टारको ट्याग पाएका अभिनेता विराज भट्टको डेब्यु निर्देशन रहेको फिल्ममा किड्नी तस्करीको कथा बोल्ने बताइएको छ । उनले पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेका छन् । फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । मानकृष्ण महर्जन छायाँकार रहेको फिल्ममा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । विराजले आफ्नो फिल्म मिनिमम ग्यारेण्टी सहित वितरणको प्रस्ताव ल्याएपछि वितरकसंग कुरा मिल्न नसकिरहेको समेत बुझिएको छ । यद्दपी यसबारे बुझ खोज्दा विराजसंग सम्पर्क हुन् सकेन ।










