पोखरामा ‘गोर्खा वारियर’ प्रिमियर

फिल्म । मोफसल प्रिमियर अन्तर्गत नेपाली फिल्म ‘गोर्खा वारियर’ को प्रिमियर सोमबार पोखरामा गरिएको छ । मिडटाउन सिनेमाजमा सम्पन्न प्रिमियर शो ब्याण्डबाजाका साथ कलाकार तथा निम्तालुलाई स्वागत गरिएको थियो । आयोजित प्रिमियरमा गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापा, प्रदेशका सांसद वेदबहादुर गुरुङ (श्याम), किराँत समन्वय समिति केन्द्रीय संयोजक अमृतबहादुर सुनवार, रिटार्यड ब्रीटिस आर्मी रुकमान गुरुङ, गुरुङ फिल्मका निर्देशक कृष्ण कुमार गुरुङ, कलाकार तथा पत्रकार विभू भूषाल, चलचित्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका प्रवक्ता अरुण गिरीसहित अभिनेता रितेश चाम्स, अभिनेत्री रेबिका गुरुङ, सञ्चारकर्मी नरेश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रिमियरमा उपस्थितले नेपाललाई सगरमाथा, गौतम बुद्ध र गोर्खालीको देश भनेर विश्वमा चिनिने हुँदा फिल्मले गोर्खालीको इतिहास बुझाउन पुस्तान्तरणमा समेत टेवा पुग्ने उल्लेख गरे । अभिनेता चाम्सले पोखरेली दर्शकमार्फत प्राप्त गरेको प्रतिक्रिया र मायालाई शब्दमा व्यक्त गर्न नसक्ने बताए । सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा केन्द्रीत फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय रहेको छ ।

पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल ‘गोर्खा वारियर’को नेपालमा फागुन ११ मा प्रदर्शन हुँदैछ । निर्देशक मिलन चाम्सले फिल्मलाई वास्तविक युद्धको शैलीमा तयार गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए । ‘हामीले अब आफ्नो कथा भन्न सुरू गर्नुपर्छ । विश्वले वीरताको उदाहरण दिने गोर्खालीको कथालाई पर्दामा देखाउन पाउँदा उत्साहित छु’, निर्देशक चाम्सले भने ।

नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । यसमा सुमन राई र सुस्मिता वाइवा निर्माता छन् । यस्तै, कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । फिल्मको एसोसिएट वितरकमा रीच इन्टरटेनमेन्ट रहेको छ ।

कमेन्ट गर्नुहोस्