विजय र सम्वृद्धिको ‘न्यौली बनैमा’ सार्वजनिक

फिल्म । नेपाली फिल्म ‘वरिष्ठ बलराम’को पहिलो गीत ‘न्यौली बनैमा’ आज सार्वजनिक गरिएको छ । निर्माण पक्षले प्रेमिल शैलीको यो गीत रिलिज गरेको हो ।गीतमा प्रशान्त शिवाकोटीको शब्द र संगीत छ भने प्रशान्त र शान्तीश्री परियारको स्वर रहेको छ । गीतको कथाले एकअर्कालाई मन पराउने युगल जोडीको प्रेमकहानी प्रस्तुत गर्छ ।

गीतमा फिल्मका मुख्य कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय छ । गीत र भिडियोले यी दुईको जोडी आकर्षक रहेको संकेत गरेको छ।कात्तिक ६ गते भाइटीकाको अवसरमा रिलिज हुने ‘वरिष्ठ बलराम’को निर्देशन सुरेन्द्र पौडेलले गरेका छन् । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि आर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्मसको सहकार्यमा बनेको यो फिल्मका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको छ । मनकृष्ण महर्जनको छायांकन, तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको यो फिल्म काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्