फिल्म । बलिउडमा ‘ब्याडम्यान’ को ट्याग पाएका गुलशन ग्रोवर यतिबेला नेपालमा छन् । उनि आफुले अभिनय गरेको फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को प्रोमोसनसँगै प्रिमियरमा सहभागी हुन् काठमाण्डौ आइपुगेका हुन् । बलिउडमा डरलाग्दो भिलेनको रुपमा चिनिने ग्रोवरले अभिनय गरेको पहिलो नेपाली फिल्मको पत्रकार सम्मेलनमा सहभागी हुदै गर्दा नेपालीको तारिफ गरे ।
बुधबार दिउँसो पाटन दरवार स्क्वायरमा सयौं नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै उनले नेपालीको प्रसंसा गरेका हुन् । ‘मलाइ नेपालको कल्चर , सुन्दरता , खाना सबै मन पर्छ’ गुलशनले भने ‘नेपाली इन्मान्दार छन् यहाँको प्रकृति जस्तै ।’ दर्शकहरुको अत्याधिक मागपछि गुलशनले आफ्ना चर्चित हिन्दी फिल्मका डाइलगहरु पनि सुनाए । यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउने आफु अभिनित फिल्मलाई हेरेर प्रतिक्रिया दिन समेत उनले आग्रह गरे ।
‘मेरो कामलाई सहि मुल्यांकन गर्नु हुनेछ’ उनले भने । अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरेर निर्माण गरिएको यो पहिलो नेपाली फिल्म हो । पेमा धोन्डुप यसका निर्देशक हुन् । गुलशनसँगै पाटन दरवार स्क्वायरमा फिल्मकी अभिनेत्री आना शर्मा, कलाकार शिशिर बाङ्देललगायत उपस्थित थिए । नकिम उद्दिनले यो फिल्म निर्माण गरेका हुन् । फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु कर्मा , नीर शाह, आमिर गौतमलगायतको पनि अभिनय छ ।












