नवलको हिरोइन साम्राज्ञी

फिल्म । पुनम इन्टरटेनमेन्टले निर्माण गर्न लागेको नयाँ फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । केहि समय देखि भईरहेको कुराकानीले विश्राम पाउदै साम्राज्ञी अनुबन्धित भएकी हुन् । नवल नेपालको निर्देशनमा तयार हुने फिल्मको पुष्टि इन्टरटेनमेन्टकी प्रमुख तथा निर्माता पुनम गौतम क्षेत्रीले गरिन् । ‘पटकथाको पहिलो ड्राफ्ट देखि नै हामीले उक्त भूमिकाको लागि साम्राज्ञी देखेका थियौ ,अन्ततः हामी एक अर्कासँग काम गर्न तयार भएका छौं,‘ उनले भनिन्, ‘एउटा सुन्दर फिल्म बनाउने हाम्रो अभिलाषा साम्राज्ञीको आगमनसँगै झन् मजबुत भएको अनभूति भएको छ ।’

यता साम्राज्ञीले पनि कथाकै कारण आफु फिल्ममा अनुबन्धित भएको बताइन । ‘पछिल्लो समय सुनिरहेको कथामा यो फरक छ र निर्माण टिम पनि राम्रो लाग्यो’ साम्राज्ञीले भनिन् । नवलसँग साम्राज्ञीले ‘मङ्गलम’ मा काम गरिसकेकी छिन । फिल्ममा साम्राज्ञीको आगमनसँगै मुख्य भूमिकामा अभिनय गर्ने कलाकारको टुंगो लागेको निर्माता गौतमले बताइन् ।

फिल्ममा यसअघि नै पुष्प खड्का र रेबिका गुरुङ फाइनल छन् । माघको दोस्रो हप्ताबाट फ्लोरमा जाने फिल्मको नाम भने निर्माण टिमले अहिलेसम्म पनि सार्वजनिक गरेको छैन । बाँकी कलाकार र नामऔपचारिक कार्यक्रम गर्दै सार्वजनिक गर्ने निर्माण टिमको तयारी रहेको छ । गोविन्द फुयाँलको लेखन रहेको फिल्मको छायाँकारको रुपमा पनि सञ्जय लामा अनुबन्धित भइसकेका छन् । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । निर्माणमा पुनम गौतमलाई राजा प्रधानले सघाउने छन् ।

कमेन्ट गर्नुहोस्