‘अञ्जिला’ समूहले साट्यो ५१ औँ दिनको खुसियाली

फिल्म । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापोको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । आज हल्चोकस्थित सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय कार्यालयको सभाहलमा आयोजित एक समारोहमा यसका निर्देशक मिलन चाम्सले खेलाडीको विषयमा बनेको फिल्मले प्राप्त गरेको सफलताले देशभक्ति र देशको गौरवसँग जोडिएका विषयलाई ठूलो पर्दामा ल्याउने आँट फिल्मकर्मीहरूलाई मिलेको बताए ।

‘खेलाडीको विषयमा बनाइएको फिल्मले पाएको यो सफलता ऐतिहासिक हो । अब खेलाडीसँगै अन्य देशका सपूतहरूको विषयमा फिल्म बनाउन धेरै निर्माता तथा निर्देशकहरू प्रेरित हुनुभएको छ, किनकि पहिलोपटक खेलाडीको विषयमा बनेको फिल्मले यस्तो सफलता पाएको छ’, निर्देशक चाम्सले भने ।

निर्देशक चाम्सले काठमाडौँ उपत्यका र मोफसलमा गरेर ४५ हलमा ५१औँ दिनको सफलता प्राप्त गरेको बताए । उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले खेलाडीको विषयलाई आम दर्शकले रुचाउने गरी फिल्ममा प्रस्तुत गरिएको भन्दै ‘अञ्जिला’ निर्माण टोलीलाई धन्यवाद दिए । उहाँले नेपाली फिल्मले एकपछि अर्को सफलता पाइरहेकोमा खुसी व्यक्त गर्दै फिल्मकर्मीहरूले भोगिरहेका नीतिगत कठिनाइहरू चाँडै समाधान हुने बताए । उनले यसै आर्थिक वर्षमा ‘रियल टाइम बक्सअफिस’ र छायाङ्कन स्टुडियोको शिलान्यास गरिने आफ्नो वाचा पनि पुरा हुने बताए ।

समारोहमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेल, फिल्म निर्देशक ज्ञानेन्द्र देउजा लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो ।

कप्तान सुब्बाको मुख्य भूमिका रहेको यस फिल्ममा दयाहाङ राई, माओत्से गुरुङ, सिर्जना सुब्बा, विजय बराल, बुद्धी तामाङ, प्रेमकुमार श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो फिल्म गत वर्ष २०८१ को होलीलाई लक्षित गर्दै फागुन २९ गतेबाट प्रदर्शनमा आएको थियो ।

कमेन्ट गर्नुहोस्