फिल्म । शुक्रबारबाट प्रदर्शनमा रहेको फिल्म ‘पिताम्बर’ लाई दर्शकले रुचाएका छन् । विशेषत नयाँ वर्षमा यो फिल्म हेर्न दर्शक हलमा भिडभाडका साथ देखिए । नयाँ वर्षलाई लक्षित गर्दै चैत २९ मा प्रदर्शन भएको फिल्मले नयाँ वर्ष २०८२ का दिन देशभर १ सय ८५ बढी सो सङ्ख्या पाएको थियो । निर्माण पक्षले प्राप्त सम्पूर्ण शो हाउसफुल रहेको जनाएको छ ।
दर्शकसँग साक्षात्कार गर्ने क्रममा निर्माण पक्षले सोमबार काठमाडौंको अष्टनारायण हलमा पुगेको थियो । जहाँ कलाकार सौगात मल्ल, प्रदीप खड्का, अनुप विक्रम शाही लगायत दर्शकसँग घेरिए । दह्रिलो प्रचार शैली, स्टारहरूको बलियो उपस्थितिसँगै दर्शकको सकारात्मक प्रतिक्रियाले निर्देशक कृषा चौलागाईं निर्देशित पिताम्बरले नयाँ वर्ष २०८२ को सुरुवाती बजारलाई सक्रिय बनाएको छ।
अभिनेता सौगातले दर्शकको माया अदभूत रहेको बताए । उनले भने,‘फिल्म हेर्न आएका दर्शक निस्किदा पनि खुसी छन् । हाम्रो कामले दर्शक खुसी भएको पाउँदा हामी कलाकारलाई पनि उस्तै खुसी लाग्छ ।’
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप, सौगातसँगै आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायतको अभिनय छ ।