‘रातो पछ्यौरी’ मा सौगात र बेनिशा

फिल्म । आगामी शुक्रबार अर्थात् साउन २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ । फिल्मको प्रचारप्रसारलाई आक्रामक बनाइरहेका बेला निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो । यस गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर रहेको छ भने बाबुल गिरीले शब्द, संगीत र एरेन्ज गरेका छन् । गीतले नेपाली मौलिकता झल्काउँदै फिल्मको कथालाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।

यसअघि सार्वजनिक भएको फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ । ट्रेलरमा नेपाली समाजमा व्याप्त गरिबी, बेरोजगारी, पारिवारिक समस्या र सरकारी उदासीनतालाई हास्यव्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको छ । राज बहादुर साने निर्देशित यस फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। श्री कृष्ण र जानुकाले यही फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म्स प्रा.लि. र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको यस फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माताका रूपमा छन् । फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्