फिल्म । विश्वविख्यात निर्देशक क्रिस्टोफर नोलनको बहुप्रतिक्षित फिल्म ‘द ओडिसी’ को पहिलो ट्रेलर सार्वजनिक भएसँगै चर्चामा आएको छ । युनिभर्सल स्टुडियोले निर्माण गरेको यो फिल्म होमरको प्रसिद्ध पौराणिक महाकाव्य (एपिक) बाट प्रेरित छ । फिल्ममा ओस्कार विजेता अभिनेता म्याट डेमनले ग्रीक नायक ‘ओडिसियस’ को भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा ट्रोजन युद्धपछि घर फर्कने क्रममा ओडिसियसले सामना गर्ने लामो, कष्टकर र घुमाउरो यात्रालाई मुख्य आकर्षणको रूपमा देखाइएको छ ।
यस फिल्ममा म्याट डेमनका साथै हलिउडका चर्चित कलाकारहरूको ठूलो समूह देखिनेछ । फिल्ममा एनी ह्याथवे (ओडिसियसकी पत्नी पेनेलोप), टम हल्याण्ड (छोरा टेलेमाकस), जेन्डाया, लुपिता न्योङ’ओ, चार्लीज थेरोन, मिया गोथ, बेनी सफ्डी र जोन बर्नथल लगायतको सशक्त अभिनय रहेको छ ।
नोलनले निर्देशनको साथै यस फिल्मको पटकथा पनि आफैँले लेखेका हुन् भने आफ्नी श्रीमती एम्मा थोमससँग मिलेर फिल्म निर्माण गरेज हुन् । ट्रेलरमा ओडिसियस र उनको सेना चढेको जहाज दुर्घटनामा परेको र उनीहरू एक विश्वासघाती यात्रामा निस्किएको देखाइएको छ । ट्रेलरको एक दृश्यमा उनीहरू कुख्यात ‘ट्रोजन हर्स’ (काठको घोडा) भित्र पनि देखिएका छन् । ओडिसियसले जमिन, समुद्र र गुफाहरू पार गर्ने क्रममा एक विशाल र भयानक जनावरको सामना गरेको दृश्यले फिल्मप्रतिको कौतूहल अझ बढाएको छ ।
आइम्याक्समा खिचिएको अर्को उत्कृष्ट कृति यो फिल्मको सम्पूर्ण छायांकन आइम्याक्स क्यामेराबाट गरिएको छ । युनिभर्सलका कार्यकारी प्रमुख जिम ओरले हालैको एक भेलामा यस फिल्मलाई ‘एक पुस्तामा एक पटक आउने सिनेमायी उत्कृष्ट कृति’ को संज्ञा दिनुभएको छ । नोलनको अघिल्लो फिल्म ‘ओपेनहाइमर’ ले सन् २०२४ को अस्करमा सात विधामा पुरस्कार जितेर रेकर्ड बनाएको थियो । त्यसैले पनि ‘द ओडिसी’ लाई लिएर दर्शक र समीक्षकमाझ निकै उत्साह छ । यो फिल्म आगामी जुलाई १७ मा विश्वभरका फिल्म घरहरूमा रिलिज हुनेछ ।










