फिल्म । गत जेठ २३ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जन्ते बाख्रो’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । दर्शकबाट मिलेको उत्कृष्ट ‘वर्ड अफ माउथ’को प्रभाव हलमा देखिन थालेको निर्माता सन्तोष गौतमले जानकारी दिए । प्रदर्शनको पहिलो र दोस्रो दिन कलाकार सहित काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको टिम आज मंगलबारबाट मोफसल यात्रामा निस्केको छ ।
निर्माता गौतमका अनुसार आज दाङ पुगेर दर्शक साक्षात्कार गरियो । भिएफएक्स सिनेमाज् दाङमा हमउसफुल दर्शकको साथ मिलेको छ । त्यहाँ अभिनेत्री गरिमा शर्मा र रुशा न्यौपाने पुग्दा सेल्फी र भिडियो तथा फोटो खिच्ने दर्शकको भिड देखिन्थो । मोफसलमा दर्शकको राम्रो साथ मिलेको भन्दै उनीहरुले खुशी समेत व्यक्त गरेका थिए । भोली बुधबार नेपालगञ्जका दर्शकसँग साक्षात्कार गर्ने तयारी रहेको निर्माता गौतमले जानकारी दिए ।
दाङ र नेपालगञ्जमा आज मंगलबारका सवैजसो शो हाउसफुल छन् । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्म पश्चिम नेपालमा सवैजसो ठाउँमा राम्रो व्यापार गरिरहेको छ । बिशेषगरी दाङ, नेपालगञ्ज र धनगढीमा राम्रो व्यापार गरेको दाबी निर्माता गौतमको छ । दर्शकको राम्रो चाप देखिएकै कारण आफु कलाकार सहित पश्चिम नेपाल पुगेको उनको भनाई छ ।
सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मको निर्माता सन्तोष गौतम हुन् । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । यसको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।
फिल्ममा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गरेको फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।










