फिल्म । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मालती मंगले’ ले घरेलु बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । सुरुवाती शोमा सामान्य ओपनिङ गरेको फिल्मले शनिबारदेखि भने दर्शकको उल्लेख्य साथ पाउन थालेको हो । फिल्म हेरेर बाहिरिएका दर्शकले दिएको सकारात्मक प्रतिक्रिया र ‘माउथ पब्लिसिटी’का कारण देशभरका हलमा दर्शकको चाप बढ्दै गएको निर्माण पक्षले जनाएको छ।
दर्शकको प्रतिक्रिया बुझ्न शनिबार फिल्मको टोली राजधानीका विभिन्न हलमा पुगेको थियो । निर्माता तथा गायक रामकृष्ण ढकालसँगै कलाकार वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम हल पुगेका थिए । कलाकारलाई प्रत्यक्ष देखेपछि दर्शकले हुटिङ, सिट्ठी र तालीमार्फत उत्साह व्यक्त गरेका थिए ।
फिल्म हेरेका अधिकांश दर्शकले ‘मालती मंगले’लाई नेपालीपन बोकेको उत्कृष्ट फिल्मको संज्ञा दिएका छन्। कथावस्तु र प्रस्तुतिले दर्शकलाई हँसाउनेसँगै भावुक बनाउन सफल भएको प्रतिक्रिया प्राप्त भइरहेको छ।
विशेषगरी अभिनेत्री वर्षा राउतको भावनात्मक अभिनय तथा अभिनेता विजय बराल र मेक्सम गौडेलको प्रस्तुति दर्शकमाझ प्रशंसित बनेको छ। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण निर्देशक प्रकु पाण्डेयको यो फिल्म आगामी दिनमा अझ मजबुत व्यापार गर्ने अपेक्षा गरिएको छ।












