यात्रा हिरोइनको नयाँ फिल्म

फिल्म । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘यात्रा : अ म्युजिकल भ्ल्ग’ मार्फत फिल्मनगरीमा उदाएकी मलिका महत दोस्रो फिल्म ‘पानीफोटो’ मा देखिने भएकी छिन् । पहिलो फिल्म मार्फत नै नोटिस भएकी मलिकाले सेट ज्वाइन गरेकी छिन् । राजधानी स्थित बंगलामुखी मन्दिरमा पुजा गर्दै फिल्मको शुभ मुहुर्त गरिएको हो । यसै फिल्म मार्फत अभिनेता खगेन्द्र लामिछाने निर्देशक बन्ने भएका छन् । ‘भर्सटायल अभिनेता’ उनि फिल्म ‘पानीफोटो’ बाट निर्देशनमा औपचारिक रुपमा होमिने भएका छन् ।

आफै लिखित नाटकलाई उनले फिल्मको स्वरुप दिदै फिल्ममा ल्याएका खगेन्द्रले मलिकालाई अडिसन मार्फत नै चयन गरेको बताए । ‘हामीलाई चाहिएको क्यारेक्टरको लागि हामीले अडिसन लियौ’ उनले भने ‘उनले अडिसन पास त गरिन नै साथै एउटा कलाकारमा हुनु पर्ने सम्पूर्ण गुण पाए।’ मलिकाको अभिनय क्षमता बढ्दै जानेमा खगेन्द्र विश्वस्त छन । उनले फिल्ममा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा- आमाको कथालाई देखाउनेछन् । यो फिल्म दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ को कथामा निर्माण हुन लागेको हो ।

‘यो मेरो सपनानै थियो कि यसलाई फिल्म बनाउने किनकी म यो कथालाई धेरै दर्शक माँझ पुर्याउन चाहन्छु’ उनले भने ‘मैले नाटक मन्चनकै समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिए ।’ टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् । फिल्मलाई सन् २०२० मा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ । फिल्मलाई दीपक बज्राचार्यले खिच्नेछन् भने सम्पादन निमेष श्रेष्ठले गर्नेछन् । पुष्पा संगमले फिल्ममा पाश्र्व संगीत दिनेछन् ।

फिल्ममा खगेन्द्रसंगै सुनिल पोखरेल , अनुप बराल , मेनुका प्रधान , प्रकाश घिमिरे , माओत्से गुरुङ , बुद्धि तामाङ्ग , कमलमणि नेपाल , अशान्त शर्मा , श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ । पशुपति प्रसाद र धनपति फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् ।

कमेन्ट गर्नुहोस्