‘काउकुती’ बन्ने : रेखा निर्मात्री, श्रद्धा निर्देशक

फिल्म । अभिनेत्री रेखा थापाले नयाँ फिल्म ‘काउकुती’ निर्माण गर्ने घोषणा गरेकी छन् । उनले सोमबार साँझ भारतको उत्तराखण्डस्थित कैंची धाममा विशेष पूजा आजा गरेपछि मंगलबार फिल्मको औपचारिक घोषणा गरेकी हुन् । यो फिल्म रेखाको ब्यानरअन्तर्गत निर्माण हुने आठौँ फिल्म हुनेछ ।

फिल्मको निर्देशन श्रद्धा प्रसाईंले गर्ने भएकी छन् । उनी पछिल्लो समय चर्चित कमेडी शो ‘कमेडी दरबार’की निर्देशकका रूपमा परिचित छिन् । साथै, उनले ‘ककाकिकी’ नामक फिल्म पनि निर्देशन गरिसकेकी छन्, जसको प्रदर्शन हुन बाँकी छ ।

फिल्ममा रेखा थापाको मुख्य भूमिका रहनेछ भने मुख्य अभिनेतामा नयाँ अनुहार ल्याउने तयारी गरिएको निर्माण पक्षले जनाएको छ । फिल्मको कथा विक्की अग्रवाल र विनेश राईले लेखेका हुन् भने पटकथा विनेश राईले तयार पारेका छन् । नवराज श्रेष्ठ र बलराम शाही ठकुरी फिल्मका लगानीकर्ता रहेका छन् । बलराम शाही ठकुरी रेखा थापाका पति समेत हुन् ।

आगामी असोज महिनाबाट छायांकन सुरु गर्ने तयारी गरिएको फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । साथै, फिल्मको एक गीत चर्चित र्‍यापर लिल झोला (आकाश क्षेत्री)ले गाउने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्