नीताले सकाईन् ‘पार्वर्ती’ को छायांकन

फिल्म । नीता ढुङ्गाना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पार्वर्ती’को छायांकन सम्पन्न भएको छ । निर्माण पक्षका अनुसार फिल्मको छायांकन २२ दिनमै सकिएको हो । गत चैत २४ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका–१, मिर्सा गाउँमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको थियो। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गरेको यो फिल्म निर्धारित एक महिनाको समयसीमाभन्दा ८ दिनअघि नै छायांकन सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ ।

फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना स्वयं देखिएकी छन् । उनीसँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको कथा तथा पटकथा नीता ढुङ्गानाकै रहेको छ भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बराल डिओपी रहेको फिल्ममा सरोज अधिकारी क्रिएटिभ निर्देशकका रूपमा रहेका छन्। कार्टुन क्रुका डान्सर तथा निर्देशकका रूपमा परिचित सरोजले यसै फिल्ममार्फत पहिलो पटक क्रिएटिभ निर्देशकको जिम्मेवारी सम्हालेका हुन्।

फिल्ममा शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता रहेका छन् भने हरिहर अधिकारी निर्माता हुन् । फिल्मको सम्पादन साहिल खानले गर्नेछन् र पोस्टर डिजाइन रोयल भिमसेनले गरेका छन् ।

कमेन्ट गर्नुहोस्