फिल्म । यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’ क्यानडामा पनि प्रदर्शन हुने भएको छ । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्मको क्यानडा प्रदर्शन अधिकार आगन इभेन्ट्सका लागि जीआर भण्डारीले लिएका छन् । उनले दसैँको रमाइलो माहोलमा फिल्मको रौनकता समेत बढ्ने बताए ।
‘यो फिल्मको सार्वजनिक सामग्रीले हामीलाई आकर्षित गरेको हो । निश्चल र स्वस्तिमा हुनुभएकाले कन्टेनमा विश्वस्त छौँ । साथै, यसले अहिलेको एउटा नदेखिएको तर विद्यमान विवाह सम्बन्धी समस्यालाई चित्रण गरेको छ’, स्थानीय वितरक भण्डारीले भने ।
उनले क्यानडाको केहि सहरमा प्रदर्शन तय भएको र केहीमा बाँकी रहेकाले इच्छुकले आफूलाई सम्पर्क गर्न सकिने जानकारी दिए । अन्य केही देशबाट समेत ‘बेहुली फ्रम मेघौली’को विदेश प्रदर्शन अधिकार लिन प्रदर्शकले चासो देखाएका छन् ।
यसअघि यसको अमेरिका प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनिले खरिद गरेको छ । फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।