फिल्म । आगामी जेठ १ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘एक मुठ्ठी बादल’ले पहिलो गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक गरेको छ । गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन् ।
सुमित पाठकको संगीतमा मीना पोखरेल र इन्द्रकला राईको स्वर रहेको गीतलाई हर्क साउदले रचना गरेका हुन् । गीतले एउटै घरमा रहेका तीन पुस्ताका महिलाको आवाजलाई प्रस्तुत गरेको छ । सुमित ‘नेपाल आइडल सिजन २’का उपविजेता हुन् । गायकको रूपमा पहिचान बनाएका उनले फिल्म संगीतमा यो गीतमार्फत डेब्यु गरेका हुन् ।
गीतको भिडियोले विवाहअघिको दिन हुने रमाइलोलाई पृष्ठभूमिका रूपमा प्रस्तुत गरेको छ। विवाहको तयारीसँगै सुरु हुने गीतमा निशा शर्मा, उषा रजक र आँचल शर्माले आफ्ना–आफ्ना जीवन भोगाइलाई अभिव्यक्त गरेका छन्। निर्देशक सहारा शर्माका अनुसार गीतमा अभिव्यक्त आवाज नै फिल्मको सार हो। उनले गीतकार हर्क साउदसँग विभिन्न चरणमा काम गरेको जानकारी दिँदै गीतमा फिल्मको कथा समेट्ने प्रयास चुनौतीपूर्ण रहेको बताइन्।
सहारा शर्मा भन्छिन्, ‘यो गीत बनाउँदा हामीले सबै पुस्ताका महिलाको भावना समेट्ने प्रयास गरेका थियौँ। हाम्रा हजुरआमा देखि नातिनीसम्म सबैले आत्मसात गर्न सक्ने सिर्जना पस्कन चाहन्थ्यौँ। त्यो पूरा भएको छ भन्ने लाग्छ।’ उनी थप्छिन्, ‘यदि ध्यान दिनुभयो भने, फिल्मले समेटेका धेरै विषयमध्ये एउटा विषय यो गीतमा बुनिएको छ।’
सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको फिल्मको गीतको निर्देशन प्रतीक गुरुङले गरेका हुन्। गीतमा कृतिका बरालको कोरियोग्राफी, निहाल भण्डारीको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ। कृष्ण भण्डारीले नै गीतको कलर ग्रेडिङ पनि गरेका हुन्।
फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।
फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्।
फिल्ममा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रोडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला निर्देशन, जानकी कडायतको भेषभूषा डिजाइन तथा कीर्ति जोशीको मेकअप रहेको छ। फिल्ममा मर्णा जेम्सले प्रमुख सहायक निर्देशकका रूपमा काम गरेकी छन् भने उनलाई शर्मिला आले र मीरा खड्काले सघाएका छन्।
फिल्मका प्रायः सबै विधामा महिलाको नेतृत्व रहेको यस परियोजनालाई गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन्। फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।












