क्यानाडाको मुख्य सहरमा गुञ्जिदै कालीप्रसाद

सङ्गीत । संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटा क्यानाडामा गुञ्जिने भएका छन् । आउँदो सेप्टेम्बर १६ मा आगन इभेन्टको प्रस्तुतीमा क्यानाडाको मिसीसागामा आयोजना हुने कार्यक्रममा कालीले आफूद्वारा संगीतबद्ध तथा स्वरबद्ध गीत प्रस्तुत गर्ने जानकारी दिए । ‘हेल्लो क्यानाडा म आउँदै छु । भेटेर रमाइलो गर्नुपर्छ है’, कालीले भिडियोमा सम्बोधन गर्दै भनेका छन् ।

उनले सङ्गीतप्रेमीलाई निम्तो गर्दै आफ्ना गीतमार्फत प्रवासमा रहेका नेपालीलाई नचाउने तयारी गरिरहेको बताए । क्यानाडास्थित मिसीसागा सहरमा हुने प्रस्तुतीलाई लिएर दर्शक प्रतिक्षित रहेको आगन इभेन्टका अध्यक्ष ज्ञान भण्डारीले जानकारी दिए । उनले भने,‘कालीजीको लोकप्रियता र क्यानाडामा रहेका नेपाली माँझ रहेको क्रेजलाई मध्यनजर गर्दै टूर आयोजना गरेका हौँ । यहाँ हुने विविध कार्यक्रममा उहाँ गीत गुञ्जिने गरेको छ ।’ कालीले फिल्ममा दिएको गीतसंगीत स्रोता माँझ लोकप्रिय छ ।

यसअगाडी जुलाईमा अध्यक्ष भण्डारीसहितको टिमले ‘शकम्बरी साँझ’को आयोजना सफलतापूर्वक सम्पन्न गरेका थिए । आउँदो इभेन्ट पछिल्लो भन्दा पनि ग्राण्ड हुने उनले बताएका छन् । इभेन्टमा कालीप्रसादसँगै गायिका मौसमी गुरुङ, लोकगायक मानसिंह खड्का, गायिका पवित्रा कार्की, गायिका सरू देउजाले गायन र नृत्यतर्फ मोडल सुधिर श्रेष्ठ र मनोज बिक लगायतका स्थानिय कलाकार आफ्नो प्रस्तुती दिनेछन ।

मिसीसागामा कालीप्रसादसँगै रहेका अन्य कलाकार सहर अनुसार फेरबदल हुने आयोजक भण्डारीले जानकारी दिए । उनले भने,’क्यानडाको मुख्य सहरमा कालीप्रसादको गीतमा झुम्न तयार रहनुहोस् । अन्य कलाकार स्थान अनुसार फरक हुनेछन् ।’ उनले आगामी दिनमा पनि विभिन्न सांगीतिक तथा सांस्कृतिक इभेन्ट गर्ने तयारीमा रहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्